
मुस्ताङ : हिमाली जिल्ला मुस्ताङमा १७ वटा हिउँचितुवा भेटिएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) सँग सहकार्य गरेर हरियो वन नामक संस्थाले गरेको अध्ययनले उक्त सङ्ख्यामा हिउँचितुवा पत्ता लागेको हो। १६ वटै गाविसमा एक्यापले गाविसस्तरीय संरक्षण समितिमार्फत वन्यजन्तु संरक्षण र अवैध चोरी सिकारी नियन्त्रण अभियान सञ्चालन गरेपछि विगत तीन वर्षयता जिल्लामा हिउँ चितुवाको सङ्ख्या बढ्दै गएको अनुमान गरिएको थियो। यसअघि मुस्ताङमा आधिकारिक रुपमा हिउँ चितुवाको गणना भएको थिएन।
दुई वर्षअघि हरियो वनले गरेको अध्ययनको प्रतिवेदन सार्वजनिक नभए पनि जिल्लामा १७ वटा हिउँ चितुवा भेटिएको एक्याप जोमसोमकी प्रमुख निरु थापाले जानकारी दिइन्। 'हरियो वनले हामीलाई प्रतिवेदन दिन भने बाँकी छ,' उनले भनिन्, 'त्यसबाट प्राप्त भएपछि कुनकुन ठाउँमा कति भन्ने जानकारी हुन्छ।' खासगरी एक वर्षअघि उपल्लो मुस्ताङको छुसाङ, घमी र सुर्खाङ क्षेत्रमा स्थानीय किसानले पालेका भेडाच्याङ्ग्रा माथि सामूहिक रुपमा हिउँचितुवाको आक्रमणको घटना बढेको थियो।
अवैध चोरी सिकारीका कारण घोरल, रतुवा लगायतका वन्यजन्तुको सङ्ख्या घटेपछि आहाराको अभावमा हिउँचितुवाको सङ्ख्या पनि घट्ने सरोकारवाला निकायको भनाइ छ। उपल्लो मुस्ताङसहित, जोमसोम र कोबाङ गाविसको वन क्षेत्रमा बढी हिउँचितुवा भेटिएको अनुमान गरिएको छ। जोमसोमको ठिनी क्षेत्रमा सबैभन्दा बढी हिउँ चितुवा रहेको स्थानीयले जानकारी दिएका छन्।
(फाइल फोटो : snowleopardconservancy.org)