PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

पर्सामा १९ करोडको लागतमा बन्यो ह्याचरी, उद्योगी भन्छन्- '५० प्रतिशत भारतीय चल्लाको आयात रोकियो'



राधेश्याम पटेल

पर्सामा १९ करोडको लागतमा बन्यो ह्याचरी, उद्योगी भन्छन्- '५० प्रतिशत भारतीय चल्लाको आयात रोकियो'

वीरगन्ज : पर्सामा करिब १९ करोडको लागतमा ह्याचरी उद्योग स्थापना भएपछि भारतबाट आयातित ५० प्रतिशत चल्ला रोकिएको उद्योगीको दाबी छ।
 
शिवम ह्याचरी एण्ड फिड प्रालि नामक उक्त उद्योगमा पर्साकै दुई व्यवसायीले हात हालेका हुन्। वीरगन्जबाट २५ किलोमिटर उत्तर-पश्चिमको कुनामा रहेको हरपुर गाविसमा ह्याचरीको लागि चाहिने अण्डा उत्पादन केन्द्र ‘अत्याधुनिक कुखुरा फर्म’ स्थापना गरिएको हो। अण्डाबाट ब्रोइलर कुखुराको चल्ला उत्पादन गर्ने शाखा वीरगन्जको ड्राइपोर्ट नजिकै सञ्चालनमा छ।
 
यतिखेर शिवम् ह्याचरीले हप्तामा करिब ५० हजार कुखुराको चल्ला उत्पादन गर्न थालेको छ। साथै, पर्साको कुखुराको चल्ला अब पर्सासँगै बारा, रौतहटसम्म बिक्री हुन थालेको सञ्चालक शरिफ अहमदले बताए। ‘एक वर्षअगाडि पर्सामा पालिने सबै कुखुराको चल्ला अवैध किसिमले भारत विहारबाट भित्र्याइन्थ्यो, अब किसानले यहीँबाट लगिरहेका छन्,’ उनले थपे। पर्सामा ह्याचरी स्थापना भएपछि भारतीय कुखुराको चल्लालाई करिब ५० प्रतिशत रोकेको उनी दाबी गर्छन्।
 
पर्सा, बारा, रौतहटमा भारत र चितवनबाट ल्याइएको चल्लाबाट कुखुरा उत्पादन हुने गरेको थियो। केन्द्र सञ्चालनसँगै पर्साबाटै चल्ला निर्यात भइरहेको व्यवसायीहरु बताउँछन्। चितवनबाट पनि केही मात्रामा भित्रने गरेको छ।
 
ह्याचरी निर्माणको कार्य अहिले पूरा भने भएको छैन। २० प्रतिशत काम बाँकी छ। एक वर्षभित्र पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने योजना रहेको अर्का सञ्चालक शिवजी साह कलवारले जनाकारी दिए। त्यतिखेर हप्तामा डेढ लाखसम्म चल्ला उत्पादन गर्ने ह्याचरीको लक्ष्य छ। प्रबन्ध निर्देशक रिजवान अहमदका अनुसार अहिलेसम्म १८ करोड रुपैयाँ लगानी भइसकेको र थप एक करोड लाग्ने अनुमान रहेको उनले बताए।
 
पर्सा, बारा र रौतहटमा चल्ला बेच्न सुरु गरेको ह्याचरीले देशैभरि मागअनुसार चल्ला आपूर्ति गर्ने लक्ष्य राखेको छ।

हरपुरमा १४ बिघा जग्गामा सञ्चालित कुखुरा फर्मलाई विदेशबाट उन्नत जातको ५० हजार पोथी माउ आयात गरी अण्डा उत्पादनको काम भइरहेको छ। फर्मका प्रबन्धक  दिपेन्द्र यादव अण्डा र चल्लाको माग बढिरहेको बताउँछन्। ह्याचरी सुरु भएकै केही महिनामा मधेस आन्दोलन सुरु भएको थियो। त्यति बेला व्यवसाय धान्न गाह्रो भए पनि अहिले निकै सुधार भएकोमा उनी ढुक्क छन्।
 
अण्डा उत्पादन गर्ने फर्ममा थाइल्याण्ड, मलेशिया, श्रीलंका लगायतका देशबाट माउ पोथी कुखुरा ल्याइएको छ। कुखुराको खोर पनि अत्याधुनिक किसिमको निर्माण गरिएको छ। जमिनबाट १० फिट उचाइमा कुखुरा रहने जालीयुक्त खोर बनाइएको छ। खाने दाना र पानीको लागि पनि आधुनिक प्रविधि जडान गरिएको छ।
 
५० हजार माउ कुखुरा फर्ममा राखिएपछि दैनिक लगभग २५ देखि ३० हजार अण्डा उत्पादन हुने गरेको छ। फर्मबाट निस्केको अण्डा गाडीबाट ड्राइपोर्ट, अलौंस्थित ह्याचरीमा पुर्‍याएपछि चल्ला निस्किन्छ। मेसिनमा २१ दिनपछि अण्डाबाट चल्ला निस्किन्छ। करिब ८० प्रतिशत अण्डा सफल हुने गरेको प्राविधिक बताउँछन्।
 
कम्पनीमा हाल ६५ जनाले रोजगारी पाइसकेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell