
खेलकुदको कुम्भ मेला मानिने ओलम्पिको ३१ औं संस्करण अगस्ट ५ मा ब्राजिलमा सुरु हुँदैछ। तर खेलकुदको राजा मानिने फुटबल भने ओलम्पिक उद्घाटन हुनु दुई दिनअघि नै सुरु हुनेछ। फुटबलसँगै यसपटक २८ खेलका ४२ इभेन्ट आयोजना हुँदैछन्।
रियो ओलम्पिक फुटबलमा कुल १६ टोलीको सहभागिता रहनेछ। २३ वर्षमुनिका खेलाडीहरु सम्मिलित टोलीले ओलम्पिकमा प्रतिस्पर्धा गर्ने गर्छन्। तर त्यस टोलीमा २३ वर्षमाथिका तीन खेलाडी राख्न पाउने प्रावधान छ। त्यसै अन्तर्गत केही टोलीले तीन खेलाडी नै टीममा राख्छन् भने कसैले एक वा दुई खेलाडी मात्र २३ वर्षमाथिका राख्छन्।
त्यसैअनुसार आयोजक ब्राजिलले २३ वर्षमाथिका खेलाडीको रुपमा नेमारलाई राखेको छ र ओलम्पिक फुटबलको स्वर्ण जित्ने योजना बनाएको छ। ब्राजिलको कप्तान समेत रहेका नेमार यस पटक ओलम्पिक खेल्ने सबैभन्दा ठूला स्टार हुन्।
नेमारसँगै गाब्रिएल बार्बोसा र गाब्रिएल जेसस ब्राजिल नयाँ स्टारमा रुपमा रहेका छन्। चार वर्षअघि लण्डनमा भएको ओलम्पिकमा फाइनल पुगे पनि ब्राजिल मेक्सिकोसँग पराजित भएको थियो। सर्वाधिक पाँच पटकको विश्वकप विजेता ब्राजिलले ओलम्पिक फुटबल भने अहिलेसम्म जित्न सकेको छैन।
ब्राजिलसँगै लण्डन ओलम्पिकका स्वर्ण विजेता मेक्सिको, सन् २००४ र २००८ को स्वर्ण विजेता अर्जेन्टिना सहित जर्मनी, पोर्चुगल जस्ता टोलीहरुले भाग लिँदैछन्।
घरेलु विवाद र कप्तान लियोनल मेसीको सन्याससँग भविष्य अन्योलग्रस्त बनेको अर्जेन्टिनी टोलीमा भने यसपटक कुनै परिचित अनुहार छैनन्। स्पानिस क्लब एथ्लेटिको मड्रिडबाट खेल्ने एन्जल कोरेअ नै अर्जेन्टिनाको स्टार खेलाडी हुन्। २३ वर्षमाथिको खेलाडीमा पनि अर्जेन्टिनाले कुनै परिचित खेलाडीलाई टोलीमा राखेको छैन।
यता चार वर्षअघि मेक्सिकोलाई स्वर्ण पदक जिताउन महत्वपूर्ण भूमिका खेलेका ओरिव परेल्टा, नाइजेरियाका जोन ओवी मिकेल, जर्मनीका माथिएस जिन्टर, दक्षिण कोरियाका सन हेउङमिङ यस पटक ओलम्पिकका हेर्न लायक खेलाडी हुन्।
महिलातर्फ भने स्वर्ण पदकका लागि १२ टोलीले प्रतिस्पर्धा गर्दैछन्। यसपटक ब्राजिलका विभिन्न ७ रंगशालामा ओलम्पिक फुटबल खेल आयोजना हुँदैछ।
ओलम्पिमा पुरुष फुटबल सन् १९०० देखि समावेश गरिएको हो भने महिला फुटबल सन् १९९६ को ओलम्पिकदेखि समावेश गर्न थालिएको हो।
ओलम्पिकमा अहिलेसम्म पुरुषतर्फ हंगेरीले तीन स्वर्ण सहित सर्वाधिक पाँच पदक जितेको छ भने ग्रेट ब्रिटेनले पनि तीन स्वर्ण नै जितेको छ।
यस्तै सोभियत रुसले दुई स्वर्ण र तीन कास्य सहित पाँच पदक जितेको छ भने अर्जेन्टिनाले दुई स्वर्ण र दुई रजत पदक जितेको छ।
अहिलेसम्म स्वर्ण जित्न नसकेको ब्राजिलले तीन रजत र दुई कास्य गरी पाँच पदक जितेको छ।
यता महिलातर्फ भने अहिलेसम्म भएका पाँच संस्करणमध्ये चार संस्करणमा अमेरिकाले स्वर्ण पदक जितेको छ। सन् २००० मा मात्र नर्वेले महिलातर्फ स्वर्ण पदक जितेको थियो।
पुरुष फुटबल अन्तर्गत चार समूहमध्ये शीर्ष दुईमा रहने अाठ टीम क्वाटरफाइनलमा प्रवेश गर्नेछन्। स्वर्ण पदकका लागि फुटबलको फाइनल खेल अगस्ट २० मा रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा हुनेछ।
यस्तै महिलातर्फ ती समूहका शीर्ष दुई टीम र तीन वटा समूहमा तेस्रो स्थानमा रहनेमध्ये उत्कृष्ट दुई टीम क्वाटरफाइनलमा प्रवेश गर्नेछ ।
महिलातर्फको स्वर्ण पदकको लागि फाइनल खेल अगस्ट १९ मा रियो दि जेनेरियोमै हुनेछ।
ओलम्पिकमा सहभागी पुरुष टीम
समूह ए : ब्राजिल, दक्षिण अफ्रिका, इराक, डेनमार्कसमूह बी : स्विडेन, कोलोम्विया, नाइजेरिया, जापान
समूह सी : फिजी, दक्षिण कोरिया, मेक्सिको, जर्मनी
समूह डी : होण्डुरस, अल्जेरिया, अर्जेन्टिना, पोर्चुगल
ओलम्पिकमा सहभागी महिला टीम
समूह ए : ब्राजिल, चीन, स्विडेन, दक्षिण अफ्रिकासमूह बी : क्यानडा, अष्ट्रेलिया, जर्मनी, जिम्वावे
समूह सी : अमेरिका, न्युजिल्याण्ड, फ्रान्स, कोलम्बिया