काठमाडौँ : पहिलो पटक प्रधानमन्त्री बन्दा तत्कालीन ठूलो दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना प्रतिस्पर्धी दोस्रो ठूलो दलका नेता शेरबहादुर देउवा पाएका थिए। देउवाको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा १ सय १३ मतमात्रै परेको थियो भने प्रचण्डको पक्षमा ४६४ मत।
अहिले उनै देउवाको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्दैछन्। यस पटक कांग्रेस सबैभन्दा ठूलो दल छ भने माओवादी तेस्रो दलको हैसियतमा छ।
यस पटक प्रचण्डले कसलाई प्रतिस्पर्धी पाउँदैछन् त?
संसदमा अब सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय एमालेले गरिसकेको छ। त्यसैले पराजय निश्चित भए पनि एमालेले उम्मेदवारी दर्ता गराउने देखिन्छ।
एमाले नेता शंकर पोखरेलले पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गर्ने जानकारी दिए।
'पार्टीको तर्फबाट उम्मेद्वार उठाउने कुरा हुन्छ। प्रधानमन्त्रीलाई अविश्वासपछि प्रधानमन्त्री नै उम्मेद्वार हुने सम्भावना त रहन्न होला। त्यो हिसाबले उपनेताकै सम्भावना बढी होला', एमाले स्थायी समिति सदस्य रहेका पोखरेलले भने।
एमाले संसदीय दलका उपनेता पूर्वसभामुखसमेत रहिसकेका सुवासचन्द्र नेम्वाङ छन्।
राजधानीमा आजै भएको एक कार्यक्रममा पनि एमाले नेता तथा सांसद रवीन्द्र अधिकारीले नेम्वाङलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन सक्ने जानकारी दिएका थिए। ।
‘हाम्रो पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता नउठ्ने पक्का भएपछि स्वभाविक रुपमा उपनेता अघि सर्नुहुन्छ,’ रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा अधिकारीले भने।
पहिलोपोस्टसँग कुरा गर्दै अधिकारीले भने, 'निर्णय भइसकेको छैन। तर उहाँ नै उठ्ने सम्भावना छ भनेको हुँ।'
के भन्छन् नेम्वाङ?

उनले पार्टीको तर्फबाट आफूलाई प्रस्ताव नआएको समेत बताए।
एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पनि उम्मेद्वारका विषयमा एमालेले निर्णय नलिएको बताए। 'अहिलेसम्म निर्णय भएको छैन', उनले भने।
व्यवस्थापिका संसदले प्रधानमन्त्रीको निर्वाचनका लागि कार्यक्रम तय गरिसकेको छ। कार्यक्रम अनुसार भोलि मंगलबार बिहान ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गराउने समय तोकेको छ।