
काठमाडौं : बाढी, पहिरो र डुबानका कारण साउन १ गतेयता १ सय २ जनाले ज्यान गुमाएका छन्। ती प्राकृतिक विपत्तिमा परी २२ जना बेपत्ता छन् भने ५८ जना घाइते रहेका छन्।
उपप्रधान तथा गृहमन्त्री भीम रावलले प्राकृतिक विपत्तिका कारण ४३ जिल्लामा भएको मानवीय र भौतिक क्षतिबारे आज सदनमा यस्तो जानकारी दिएका हुन्।
पहिरोका कारण सबैभन्दा बढी प्युठानमा मात्रै ३१ जनाले ज्यान गुमाए। त्यहाँ १ जना बेपत्ता छन् भने ७ जना घाइते रहेका छन्। १ सय ७ घरमा पहिरोले पूर्ण क्षति पुर्याएको छ। प्युठानमा पहिरोका कारण २ सय ५७ घर परिवार विस्थापित भएका छन्। बाग्लुङमा भने पहिरोका कारण ६ जनाको मृत्यु भएको छ भने १ सय ८ घरमा क्षति पुगेको छ।
रावलले सरकारले साउन १३ गतेको भूकम्पबाट घर पूर्ण क्षति हुने परिवारलाई दिने दिने रकम ५ हजारबाट बढाएर १० हजार पुर्याइएको बताए। त्यस्तै मृतकका परिवारलाई ४० हजार नगद दिने पुरानै निर्णयअनुसार वितरण भइरहेको समेत दाबी गरे।
सप्तरीमा भएको डुबानबाट स्वास्थ्य सम्बन्धी महामारी फैलने खतरातर्फ सचेत रहँदै सरकारले स्वास्थ्य मन्त्रालय अन्तर्गत टोली परिचलालन गरिसकेको पनि उनले जानकारी गराए। पूर्वाञ्चल र पश्चिमाञ्चलमा नेपाली सेनाको हेलिकोप्टर नै राखेर उद्धर कार्यमा खटाइएको उनको भनाइ छ।
उनका अनुसार बाँकेमा डुबानमा पर्न लागेका ४ सय १ जनालाई सेनाको हेलिकोप्टरबाट उद्धर गरिएको थियो। फाइल फोटो