
काठमाडौँ : उपप्रधान तथा गृह मन्त्री भीम रावलले कोशी ब्यारेजमा आतंकवादी हमलाको हल्लाबारे भारतको स्थानीय निकायबाट भएको पत्राचारप्रति आपत्ति जनाएका छन्।
संसदलाई यस विषयमा जानकरी गराउँदै रावलले यो 'कुनै देशको स्थानीय निकायबाट स्थानीय निकायलाई पत्राचार गरेर निर्देशित गर्ने विषय' नभएको बताए।
गत साउन १० गते भारतको बिहारस्थित सुपौलको डिस्ट्रिक्ट म्याजिस्ट्रेट वैधनाथ यादवले नेपालको मोरङ, सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई कोसी ब्यारेजमा आक्रमण हुन सक्ने भन्दै सुरक्षा प्रबन्ध गर्न पत्र लेखेका थिए।
पत्रमा भनिएको थियो - इस्लामिक आतंकवादी संगठन आइएस आइएस र जैसए मुहम्मद नामक संगठनले कोसी ब्यारेज भत्काउने चेतावनी दिएको छ।
गृह मन्त्री रावलले संवेदनशील विषयमा 'स्थापित प्रणालीबाट वा कुटनीतिक प्रणालीबाट आधिकारिक रुपमा' सूचना प्राप्त हुनुपर्ने विषय भएको बताए। साथै कोसी ब्यारेज लगायतका संरचनाको सुरक्षा गर्न नेपाल सरकार सक्षम रहेको बताए।
भारतीय पक्षबाट दिइएको कोसी ब्यारेजको सुरक्षाबारे उठाइएको प्रश्नबारे भारतीय मिडियामार्फत् समाचार सार्वजनिक भएको थियो। लगत्तै नेपाल मिडियाले पनि कोसीमा आक्रमणका विषयमा भएको पत्राचारबारे समाचार लेखेका थिए।
साउन १३ गते गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै आक्रमण हल्ला निराधार रहेको बताएको थियो। साथै मन्त्रालयले विज्ञप्तिमा 'उपयुक्त संयन्त्र र प्रणालीमार्फत् कहीँ कतैबाट प्राप्त हुने जानकारी सूचनालाई मनन गरी यथोचित पाइला चाल्न तयार' रहेको जनाएको थियो।