PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

नयाँ प्रधानमन्त्रीका लागि आज संसदमा उम्मेदवारी दर्ता, एमाले बैठक बस्दै



पहिलोपोस्ट

नयाँ प्रधानमन्त्रीका लागि आज संसदमा उम्मेदवारी दर्ता, एमाले बैठक बस्दै

काठमाडौं : नयाँ प्रधानमन्त्री चयन गर्नका लागि व्यवस्थापिका संसदमा आज ११ बजेदेखि उम्मेदवारी दर्ता प्रक्रिया अघि बढाइने भएको छ।
 
व्यवस्थापिका संसदको हिजोको बैठकले मंगलबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तोकेको थियो।
 
निर्वाचन कार्यक्रमअनुसार आजै बेलुका उम्मेदवारको सूची सार्वजनिक हुनेछ भने प्रधानमन्त्रीको निर्वाचन भने भोलि बुधबार हुनेछ। बुधबार बिहान ११ बजे बस्ने संसदको बैठकले नयाँ प्रधानमन्त्रीका लागि निर्वाचन गर्नेछ। सुरुमा उम्मेदवारीको सूचना प्रस्तुत गरेपछि प्रस्तावक र समर्थकले समर्थन गर्ने, सबै उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुनेछ। त्यसपछि अन्तिममा सबै उम्मेदवारीलाई एकै साथ निर्णयार्थ प्रस्तुत गरिनेछ।   

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार गठबन्धनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई प्रधानमन्त्रीको उम्मेदवार बनाउँदैछ। संसदमा अब सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय एमालेले गरिसकेको छ। त्यसैले पराजय निश्चित भए पनि उसले उम्मेदवारी दर्ता गराउने देखिन्छ।
 
संसदीय दलका उपनेता समेत रहेका पूर्व सभामुख सुवास नेम्बाङलाई उठाउने सम्भावना रहेको छ। केही बेरमा बस्ने स्थायी समिति बैठकले यसबारे टुंगो लगाउँदैछ।
 
संसदको नियमावलीअनुसार प्रधानमन्त्री पदमा एकमात्र उम्मेदवारी दर्ता भएमा सदनमा मत विभाजन गर्नुपर्छ। मत विभाजनबाट संसद्‍मा अहिले रहेको संदस्य संख्या ५ सय ९५ को बहुमत संख्या २ सय ९८ को समर्थन प्राप्त गर्ने उम्मेदवार प्रधानमन्त्रीमा निर्वाचित हुने व्यवस्था छ।
 
प्रधानमन्त्री केपी ओलीले असार २९ गते पदबाट राजीनामा दिएपछि नयाँ सरकार निर्माणका लागि प्रक्रिया अघि बढेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिको सरकार गठन गर्न दिएको सात दिनको म्याद गुज्रिएपछि बहुमतीय सरकार बनाउन सोमबार संसदलाई पत्राचार गरेकी थिइन्। संसद बैठकमा सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री निर्वाचनको मितिबारे जानकारी गराएपछि बहुमतीय प्रक्रिया अघि बढेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell