PahiloPost

Nov 15, 2024 | ३० कात्तिक २०८१

बिहान ११ बजेर २६ मिनेटमा प्रचण्डले दर्ता गरे प्रधानमन्त्रीका लागि उम्मेदवारी



मनोज सत्याल

बिहान ११ बजेर २६ मिनेटमा प्रचण्डले दर्ता गरे प्रधानमन्त्रीका लागि उम्मेदवारी

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्। 

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान ११ बजेर २६ मिनेटमा उनले उम्मेदवारी दर्ता गराएका हुन्। उनको प्रस्तावक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रहेका छन्। 

समर्थकमा माओवादी केन्द्रका सांसद कृष्णबहादुर महरासहित नेकपा संयुक्तका सांसद जयदेव जोशी, अखण्ड नेपालका सांसद कुमार खड्का र स्वतन्त्र सांसद चन्द्रेश्वर झा रहेका छन्। मधेसी मोर्चासँग तीन बुँदे सहमति भएपछि उनीहरुले पनि समर्थनमा हस्ताक्षर गरेका छन्। 

तेस्रो पटक उम्मेदवारी

प्रचण्डले आफ्नो जीवनकालमा तेस्रो पटक उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि २०६५ सालमा उनले पहिलो पटक प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराएका थिए जसमा ४६४ मत पाएर उनी प्रधानमन्त्री निर्वाचित पनि भए। त्यतिबेला संसदको नियमावली अनुसार प्रधानमन्त्रीका हरेक उम्मेदवारलाई छुट्टाछुट्टै मतदान गर्नुपर्थ्यो र जित्नका लागि कूल सदस्य संख्याको बहुमत आवश्यक हुन्थ्यो।  

रुक्माङगद कटवाल कान्डपछि प्रचण्डले राजीनामा गरे र त्यसपछि माधवकुमार नेपाल प्रधानमन्त्री बने। उनले राजीनामा गरेपछि नयाँ प्रधानमन्त्रीका लागि भएको २०६७ मा भएको निर्वाचनमा प्रचण्डले दोस्रो पटक उम्मेदवारी दिएका थिए। त्यतिबेला नेपाली कांग्रेसले रामचन्द्र पौडेल र एमालेबाट झलनाथ खनाललगायतले उम्मेदवारी दिएका थिए। 

तत्कालीन संसदको नियमावली अनुसार कसैले पनि बहुमत पाउन नसक्ने स्थिति नभएपछि सात पटक निर्वाचन हुँदासम्म पनि कसैले बहुमत ल्याउन नसकेपछि उनले उम्मेदवारी फिर्ता लिएका थिए। तर पौडेल र खनालबीच १७ पटकसम्म निर्वाचन भए पनि कोही पनि प्रधानमन्त्री निर्वाचित हुन सकेको थिएन। पछि प्रचण्डले झलनाथ खनाललाई समर्थन गरेपछि खनाल प्रधानमन्त्री भए।

दोस्रो पटकको उम्मेदवारी असफल भए पनि तेस्रो पटक उनी प्रधानमन्त्री हुने निश्चित भएको छ। यस पटक एमालेले पनि आफ्नो उम्मेदवार नदिने निर्णय आजमात्र गरेको छ।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell