
काठमाडौं : नेपाली पौडी खेलाडी गौरिका सिंह रियो ओलम्पिक २०१६ मा प्रतिस्पर्धा गर्ने सबैभन्दा कम उमेरकी खेलाडी भएकी छिन्।
रियो ओलम्पिकको अफिसियल वेबसाइटमा १३ वर्षे किशोरी गौरिकालाई सबैभन्दा कान्छी खेलाडी भएको उल्लेख गरिएको छ। लण्डनमा बस्दै आएकी गौरिका नेपालबाट प्रतिनिधित्व गर्दैछिन्।
गत वर्ष गएको विनाशकारी भूकम्पका बेला राष्ट्रिय प्रतियोगिता खेल्न उनी काठमाडौं आएकी थिइन्। गौरिकाले रियो २०१६ को साइटसँगको कुराकानीमा उक्त भूकम्प एकदमै डरलाग्दो रहेको बताएकी छिन्।
आफ्नी आमा र भाइसँग नेपाल आएकी उनले घरको पाँचौ तल्लामा रहेकाले आफूहरु त्यहाँबाट भाग्न नसकेको र १० मिनेट कोठाको बीचमा रहेको टेबुनमुनि बसेको अनुभव सुनाएकी छिन्।
अरुभन्दा आफू भाग्यमानी भएको बताउँदै उनले भनेकी छिन्, 'संयोगवश त्यो नयाँ घर थियो, त्यसैले अरुजस्तो भत्किन पाएन।'
गौरिकाको बुबाका साथीले तत्कालै स्कुल पुनर्निर्माणका लागि च्यारिटी खोलेका थिए। नेसनल च्याम्पियनसिपबाट उठेको करिब २ सय पाउण्ड आफूले त्यसमा सहयोग गरेको गौरिकाले बताइन्। 'उनीहरुले मलाई गुडविल एम्बासाडर बनाए,' उनले भनिन्।
गौरिका दुई वर्षको हुँदा बुबा पारसले लण्डनमा रोयल फ्रि हस्पिटलमा काम गर्न थालेपछि परिवार नै इंगल्याण्ड लागेको हो।
आफ्नो उमेर समूहमा गौरिका ब्रिटिनको उत्कृष्ट २० स्विमरभित्र पर्छिन्। उनले बर्नेट कप्टहल क्लबका लागि खेल्दै आएकी छिन्, जसले धेरै अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन गरिसकेको छ। गौरिका ११ वर्षको हुँदा पहिलो पटक नेपालको पौडी प्रतियोगितामा भाग लिएकी थिइन्। पहिलो सहभागितामै ७ राष्ट्रिय कीर्तिमान तोडेकी उनले त्यसपछि निरन्तर रुपमा कीर्तिमान तोड्दै आएकी छिन्। त्यति बेलै उनले ओलम्पिक खेल्न सक्ने बताइएको थियो।
'म ओलम्पिक जान चाहन्थेँ तर पक्का थिइनँ। धेरै नै सानी थिएँ,' ५ फुट १ इन्च उचाइ रहेकी गौरिकाले सुनाइन्, 'जब मैले एक महिनाअघि पत्ता पाएँ, यो निकै अप्रत्यासित थियो।'
गौरिकाले रियो ओलम्पिकमा सय मिटर ब्याक स्ट्रोकमा प्रतिस्पर्धा गर्नेछिन्। उक्त स्पर्धामा उनको व्यक्तिगत उत्कृष्ट समय १ मिनेट ८.१२ सेकेण्ड छ। उक्त स्पर्धाको मुख्य प्रतिस्पर्धी अस्ट्रेलियाकी ओलम्पियन एमिली सिबोम हुन। सन् २०१२ मा लण्डन ओलम्पिकमा सिल्भर मेडल जित्दा हिटमा ५८.२६ सेकेण्डको उत्कृष्ट समय निकालेकी थिइन्। उनी गौरिका भन्दा ११ वर्ष जेठी छिन्।
गौरिकाले सय मिटर ब्याकस्ट्रेकमा अगस्ट ८ मा ओलम्पिक अक्वाटिक्स स्टेडियममा प्रतिस्पर्धा गर्नेछिन्। उनीसँगै बर्नेट कप्टहलबाट ह्यारिस बान्डे पनि रियो दि जेनेरियो प्रस्थान गरेका छन्।
गौरिका विशेष रहेको भन्दै उनका बुवा पारसले रियो ओलम्पिकको सबैभन्दा कान्छी खेलाडी हुनु अविश्वसनीय भएको बताएका छन्। ट्रेनिङका लागि हरेक बिहान ४ बजे उठ्ने भएकाले पनि आफ्नी छोरी सफलताका लागि लायक रहेको उनको भनाइ छ।
भारतमा भएको १२ औं दक्षिण एसियादी खेलकुद सागमा गौरिकाले पौडीमा नेपाललाई ऐतिहासिक रजत सहित चार पदक जितएकी थिइन्। उनले पौडीमार्फत पहिलो व्यक्तिगत रजत दिलाएकी हुन् भने ३ कास्य समेत जितेकी थिइन्।