
काठमाडौं : तेलको मूल्यमा आएको कमीका कारण नेपाल लगायत उपभोक्ता देशमा खुसी छन्। गुजाराका लागि मोटरसाइकलमा यात्रा गर्ने हुन् या सार्वजनिक यातायातमा हिँड्ने सर्वसाधारणमा पेट्रोलियमको मूल्य कटौतीले धेरै राहत दिने गर्छ। गृहिणीको मुहार समेत उज्यालो गराउँछ मूल्य घट्दा।
तर, तेल उत्पादक देशहरुमा भने यो गिरावटले ठूलै रुवाबासीको अवस्था छ। रोजगारीबाट परिवार पाली रहेका कैयनले जागिर गुमाएका छन् भने कम्पनीहरु धमाधम टाट उल्टिँदैछन्।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम मूल्यले ऐतिहासिक उचाइपछि गिरावटमा पनि नयाँ रेकर्ड बनाएको हो। अहिले तेलको मूल्य सन् १९९० पछिकै न्युनतम बिन्दुमा झरेको छ। यही कारण पछिल्ला वर्षमा ऐतिहासिक नाफा कमाएका अग्रणी कम्पनीले अनुसन्धान र उत्पादनमा लगानी कटौती गर्दै ठूलो संख्यामा कर्मचारीलाई जागिरबाट निकालेका छन्।
कैयन् कम्पनी टाट उल्टिसकेका छन्। पेट्रोलियम क्षेत्रमा कार्यरत मध्ये हालसम्म विश्वभरमा दुई लाख ५० हजार भन्दा बढी बेरोजगार भइसकेको अनुमान छ। त्यसमध्ये करिब आधाले अमेरिकामा मात्र जागिर गुमाएका छन्। ब्रिटिस तेल जाइन्ट बिपीले अनुसन्धान र उत्पादनमा कार्यरत २४ हजार जनशक्ति मध्ये चार हजार जनालाई बिदा गरिसकेको छ।
सन् २०१४ को जुन यता एक ब्यारल कच्चा तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा ७० प्रतिशतले घटेको छ। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यको मूख्य आधार मानिने ब्रेन्ट क्रुडमा सोमबार प्रति ब्यारल कच्चा तेलको मूल्य ४३ अमेरिकी डलर कायम भयो। अमेरिकामा यो मूल्य अझ तल ४१ डलर मात्र रहेको छ।
यो दुई वर्षमा धेरै पटक मूल्य उकालो लाग्ने संकेत पनि देखियो। तर, उत्पादकका लागि नाफा बुक गर्ने अवस्था नबन्दै मूल्य पुन झर्ने गरेको छ। विज्ञहरुले प्रतिव्यारल तेलको मूल्य ९० देखि एक सय अमेरिकी डलरकोबीचमा फर्किन अझै केही वर्ष लाग्ने बताउन थालेका छन्। जुन पछिल्लो दशकको औशत मूल्य थियो।
तेलको मूल्य यतिबिघ्न गिरावट आउनुको भित्री कारण अझै प्रष्ट हुन सकेको छैन। तर, अर्थशास्त्रको साधारण सिद्धान्त अनुसार माग र पूर्तिको असन्तुलनकै कारण यस्तो हुन गएको विश्लेषण गरिएको छ। अमेरिकामा मात्र पछिल्ला केही वर्षमा तेल उत्पादन करिब दोब्बर भएको थियो। जसले विश्वका अरु ठूला उत्पादकलाई नयाँ बजारमा प्रतिस्पर्धाका लागि बाध्य पार्यो। साउदी अरेविया, नाइजेरिया एवं अल्जेरियाका लागि एक समय अमेरिका मूख्य बजार थियो। अमेरिकामा आन्तरिक उत्पादन बढेपछि उनीहरु एसियाली बजारमा प्रतिस्पर्धाका लागि उत्रिए।
क्यानडा र इराकमा पनि तेल उत्पादन बृद्धि र निर्यात निरन्तर उकालो लागेको थियो। रसियाले समेत अनेक आर्थिक चुनौतीका बावजुत तेल निर्यातमा नयाँ रेकर्ड बनाउन पुग्यो। मागमा खासै बढोत्तरी भएको थिएन। अन्तत: प्रतिश्पर्धाका लागि उत्पादकहरुसँगै एउटै विकल्प बाँकी रह्यो; मूल्य कटौती। किनभने युरोप एवं विकासशील मुलुकको अर्थतन्त्रमा आएको सिथिलता एवं कम इन्धन खपत गर्ने सवारी साधनको उत्पादन बृद्धिका कारण पेट्रोलियम मागमा उकालो लाग्न सकेन।
अहिले बिस्तारै अन्तर्राष्ट्रिय तेल बजारमा नयाँ संकेतहरु देखिन थालेका छन्। त्यो हो उत्पादनमा ह्रास। ठूला कम्पनीहरुले उत्पादनमा लगानी कटौती गर्न थालेपछि यो अवस्था आएको हो। आरबिसी क्यापिटल मार्केटका अनुसार पेट्रोलियम निर्यातकर्ता राष्ट्रहरुको संगठन ओपेकमा मात्र अघिल्ला वर्षको तुलनामा दैनिक पाँच लाख ब्यारल कच्चा तेल उत्पादनमा कटौती हुन थालिसकेको छ। तथापि अमेरिकामा भने पेट्रोलियम माग उकालो लाग्ने केही संकेत समेत देखिएको छ।