PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

नयाँ पुस्ताका लागि भलिबलको आइडियल को?



पहिलोपोस्ट

  • कपिल किशोर श्रेष्ठ - 
नेपालको लोकप्रिय खेल भएकाले यहाँको जुनसुकै क्षेत्रमा पनि भलिबल खेल्न सकिन्छ। तर प्रतियोगितात्मक रुपमा हेर्ने हो भने अहिले नेपाली भलिबलको अवस्था सन्तोषजनक छैन। पहिलेको भन्दा स्तर घट्दो छ।
 
चार वर्षअघि निर्वाचित नेपाल भलिबल संघले प्रयास गरेकै हो। घरेलु प्रतियोगितामा मात्र नेपाली भलिबल केही बढेको देखिएको हो, तर अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको अवस्था राम्रो छैन।
 
कुनै पनि खेललाई त्यस बेला राम्रो मानिन्छ, जति बेला नेसनल टीम राम्रो बन्छ अनि अन्तर्राष्ट्रिय स्तरमा राम्रो रिजल्ट आउँछ, मेडल आउँछ। हरेक खेलको राम्रो टीम बनाएर देशको लागि पदक ल्याउने भन्ने हुन्छ, तर यस पाटोमा हाम्रो भलिबल कमजोर छ।
 
आन्तरिक रुपमा भलिबल ठिकै देखिए पनि त्यसबाट अगाडि बढ्न सकेको छैन। अन्तर्राष्ट्रिय प्रतियोगिता नभई त्यो खेल देशमा चर्चित हुँदैन। यो पाटोमा पनि भलिबल संघ मौन छ।
 
राष्ट्रिय टीमले नियमित ट्रेनिङ गर्नुपर्छ, उनीहरुलाई इनगेज्ड बनाइराख्नुपर्छ। राष्ट्रिय टीमको महत्व कति हो भनेर बुझ्ने यहाँ मान्छे नै भएनन्।
 
खेलाडीलाई नियमित रुपमा ट्रेनिङ गराउने हो भने उनीहरुमा निखारता आउँछ। अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सक्षम हुन्छन्। तबमात्र नेपालले मेडल जित्न सक्छ।
 
नियमित कार्यक्रम भइरह्यो भने मात्र भलिबलका गतिविधिबारे मिडियामा छाउँछ। अनि जनताले थाहा पाउँछन्। स्पोर्टसको पहिलो प्राथमिकता भनेकै मिडिया हो। उदाहरणका लागि क्रिकेट र फुटबललाई लिन सकिन्छ। क्रिकेटले पछिल्लो समय राम्रो गरिरहेको छ। फुटबलले गत वर्ष दुई प्रतियोगिता जितेपछि हेर्ने नजर नै फेरिएको छ।
 
मुख्य कुरो रिजल्ट नै हो। रिजल्ट राम्रो भएपछि सबैले चासो देखाउँछन्। सबैतिर चर्चा बढ्न थाल्छ। खेलाडीलाई अझ राम्रो गर्न थप हौसला मिल्छ।
 

नयाँलाई खोइ प्रोत्साहन?

नेपालमा भलिबलको राष्ट्रिय टीमबाहेक ब्याक अप, एज ग्रुपको टीम पनि छैन। जुनिएर लेभलमा संघले ध्यानै दिएको छैन। यु-१३ लाई मिनी भलिबल भनिन्छ। जुन विश्वभर चर्चित छ। नेपालका स्कुलहरुमा पनि त्यसको विकास गर्न सकिन्छ। यी सबैमा नेपाल शून्य छ। त्यसैले गर्दा पनि नेपाली टीममा नयाँ खेलाडी आउन सकेका छैनन्। राष्ट्रिय टीममा जति छ, त्यति नै हो।
 
अन्तर्राष्ट्रिय गेममा एकदमै कम सहभागिता छ। साग टु साग मात्र हो नेपालले खेल्ने। बीचमा कुनै टुर्नामेन्ट हुँदैन। साग पनि भनेको समयमा हुँदैन। यस्तो बेला संघले पनि ध्यान दिन नसक्दा नेपाली भबिलल पपुलारिटी र स्पोन्सरमा पछि परेको छ।
 
हरेक खेलको विकास हुने तल्लो लेभलबाटै हो। तर भलिबलमा आइडियल प्लेयर नै भएन। पछि गएर को जस्तो बन्ने भन्ने नै छैन। त्यस मामलामा पहिले सिनियर टीम उत्कृष्ट हुनुपर्छ। अनि मात्र तल्लो लेभलको टीमलाई आकर्षित गर्न सकिन्छ। जुनियर खेलाडीको लागि आइडल प्लेयर हुनु जरुरी छ।
 
आजकाल फुटबलमा नवयुग श्रेष्ठ, क्रिकेटमा पारस खड्का जस्तो भन्ने लहड छ तर भलिबलमा कोही छैनन्। किनकि अन्तर्राष्ट्रिय गेम छैन। खेलाडीलाई कसैले चिन्दैन। नयाँ आउने खेलाडीको लागि आफ्नो हिरो नै छैन।
 

टार्गेट गोल्ड मेडल


राष्ट्रिय टीम बलियो बनाएर रिजल्ट दिन थाल्ने हो भने नयाँ जेनेरेसन पनि यसतर्फ आकर्षित हुन थाल्छन्। राम्रो खेलाडी र टीमलाई स्पोन्सर आउँन थाल्छ। अहिले फुटबल र क्रिकेटबाहेक अन्य खेलमा स्पोन्सरको क्रेज छैन। भर्खरै मात्र पौडीका शिरीष गुरुङले ब्राण्ड एम्बासडर हुने अवसर पाए। पौडी चर्चित नभए पनि शिरीष चर्चित भएका कारण उनलाई स्पोन्सर गर्नेहरु आए। यस्तो भयो भने खेलाडीको बाँच्ने आधार बन्छ।
 
नेपालको पपुलर स्पोर्टस भलिबलको १० वर्ष प्रतियोगिता नभए पनि यो लोभ हुँदैन। यदि भलिबलमा राम्रो लगानी गर्ने, नियमित ट्रेनिङ गर्ने हो भने, खेलाडी-कोच र संघको समायोजन राम्रो बन्ने हो भने नेपाली टीमले पनि अन्तर्राष्ट्रिय कोर्टमा राम्रो प्रदर्शन गर्न सक्छ।
 
महिलातर्फ नेपालले सागमा गोल्ड मेडल जित्न सक्छ। गोल्ड मेडल साधारण पनि होइन, धेरै मेहनत र निरन्तर ट्रेनिङको आवश्यकता पर्छ। डे टु डे सिरियस भएर लाग्नुपर्छ। नेपाली महिला टीम दक्षिण एसियामा राम्रो छ। भारतबाहेक सबैलाई हराइसक्यो। सागमा पनि टार्गेट गोल्ड नै हो भन्ने बनाउनुपर्छ। यदि जित्ने बानी बनाउने हो भने गोल्ड टाढा हुँदै होइन।
 
पहिले संघले योजना बनाउनुपर्‍यो। खेलाडीलाई व्यस्त बनाइराख्नुपर्‍यो। अवश्य हामी गोल्ड मेडल जित्न सक्छौं।
 

सरकारी नीतिको अभाव

केही खेलाडीमा पलायनको समस्या छ। संघले भन्दा पनि सरकारको नीति बन्नुपर्छ खेलाडीलाई रोक्ने। खेलाडी वर्षभरि खेल्छ, तर केही पाउँदैन। सरकारले दिने भने त्यही ३/४ लाख हो। यतिले केही हुँदैन। राम्रो खेल्ने खेलाडीलाई त्यहीअनुसार सम्मान गर्न सक्नुपर्छ।
 
नेपालको सरकारी जागिर खाने माध्यम लोकसेवा हो। आदिवासी, जनजाति, मधेसी, महिला कोटा छुट्याए जस्तै खेलाडीलाई पनि कोटा छुट्याउने हो भने उनीहरु पढ्न थाल्छन्। परिवारले पनि सपोर्ट गर्छ।
 
खेलाडी पढ्ने, खेलमा राम्रो गर्ने, मेडल ल्याउने भएपछि नयाँ खेलाडीलाई पनि हौसला मिल्छ। सबैले मेहनत गर्न थाल्छन्, खेलाडी पलायन हुनबाट रोकिन्छन्।
 
भारत लगायत अन्य देशका सबै खेलाडीले पढेका छन्, किनकि त्यहाँ त्यहीअनुसार जागिर पाउँछ, खेलाडीको महत्व छ। खेलाडीको शिक्षालाई योग्यताअनुसार सम्मान गर्नुपर्छ।
 
एकेडेमिक नलेज भएको खेलाडीले राम्रो खेल्न सक्छ। अरुलाई राम्रो खेल्न प्रेरित गर्छ। पछि गएर कोचबन्दा अनुभवी कोच बन्न सक्छ।
 
कतिपय खेलाडी पटक-पटक मेहनत गर्दा पनि सफल हुन सक्दैनन् र केही सिप नलागेपछि बाध्य भएर विदेश जान्छन्।
 

फुर्सदिला कोच

सरकारले खेलाडी देशको गहना हो भन्छ। ठूला कुरा गर्छ तर अन्त्यमा केही हेर्दैन। मेडलअनुसार खेलाडीलाई निश्चित स्थान छुट्याउन सकिन्छ। खेलाडी एकेडेमिक, इन्टेलिजेन्ट र फिजिकल फिटनेस भयो भने सरकारलाई पनि फाइदा पुग्छ।
 
डिपार्टमेन्टमा यस्ता खेलाडीको महत्व झन् बढी हुन्छ।
 
खेलाडी जस्तै नेपाली कोचलाई पनि राष्ट्रिय खेलकुद परिषदले नियमित कामको जिम्मेवारी दिनुपर्छ। नेपालमा पनि विदेशमै सिकेर आएका कोच छन्। उनीहरुले पनि निरन्तर काम गर्न पाए भने नै खेलाडीलाई राम्रो ट्रेनिङ गराउने हो।
 
कोच बन्ने भनेको २५ वर्षपछि हो। तर राखेपले त्यो युवा अवस्थामा काम गर्ने कुनै वातावरण बनाउँदैन। हाजिर गर्नेमा मात्र सीमित छ। राखेपले जागिर दिएपछि नियमित काम गर्ने वातावरण पनि बनाउनुपर्छ। अन्तर्राष्ट्रिय प्रतियोगिता कम हुने  भएपछि कोच पनि फुर्सदमा हुन्छ र आफ्नो विकास गर्न पाउँदैन।
 
युवा अवस्थामा काम गर्न पाउँदैनन्, ४० वर्ष काटेपछि कोचले केही गर्न सक्दैनन्; त्यत्तिकै थन्किन्छ। म त नियमित व्यस्त भएर कहीँ न कहीँ भलिबलमै लागेकोले मात्र पनि जस्ताको तस्तै भएको हुँ।
 
नेपालमा भलिबलका कोचहरु पनि कम छन्। विदेशमा ४० वर्षसम्म पर्याप्त अनुभव लिइन्छ र त्यसपछि उत्कृष्ट कोच भएर निस्कन्छ।
 

हामी व्यस्त हुन्थ्यौं

मैले ३४ वर्ष कोचिङ करियर नै बिताइसकेँ। यस क्रममा माल्दिभ्सको क्लब भलिबलमा समेत प्रशिक्षण गर्न भ्याएँ। नेपालको राष्ट्रिय टीमदेखि, क्लब लगायत अधिकांशको प्रशिक्षक बनिसकेँ।
 
म नेपालबाट अन्तर्राष्ट्रिय गेम खेल्ने फस्ट जेनेरेसनको खेलाडी हुँ भने राष्ट्रिय गेम खेल्ने सेकेण्ड जेनेरेसन। सन् ८० को दशकमा हामी वर्षको ९ महिना राजधानीबाहिर गएर खेलाडीलाई प्रशिक्षण दिने गर्थ्यौं। खेल्दा-प्रशिक्षण दिँदा छुट्टै प्रकारको जोस हुन्थ्यो। त्यस ब्याचलाई राखेपले पनि धेरै प्रयोग गर्‍यो। अन्तर्राष्ट्रिय, राष्ट्रिय स्तरका गेम पनि धेरै हुन्थ्यो हाम्रो समयमा। खेल्ने वातावरण राम्रो थियो।
 
माल्दिभ्समा मसँगै नेपालबाट दुई महिला खेलाडी समेत गएका थिए। भारत र  श्रीलंकाका खेलाडीहरुले खेल्ने त्यहाँको क्लब स्तरीय प्रतियोगितामा नेपाली खेलाडी रहेको टीमले जित्यो। नेपाली खेलाडी कोपिला र निमाले राम्रो प्रदर्शन गरे। त्यहाँ राम्रो गर्न सक्ने नेपाली खेलाडीले सागमा पनि अवश्य राम्रो प्रदर्शन गर्न सक्छ।
 
भारत र श्रीलंकाले साग गेमबाहेक एसियन स्तरमा पनि खेल्दै आएको छ। तर हाम्रो सागबाहेक अन्य प्रतियोगिता छैन। उनीहरु अघि बढ्दै जाँदा हामी पछि हट्दै गएका छौं। निरन्तर खेलिरहन पाएको भए अहिले भारतलाई पनि आरामले हराउन सक्थ्यौं। खेलाडीहरुलाई विदेशमा खेलाएर थप एक्स्पोजर दिन सक्ने हो भने नेपाली खेलाडीले अझै पनि राम्रो प्रदर्शन सक्ने अवस्था भने छँदै छ।

(भलिबल प्रशिक्षक श्रेष्ठसँग पहिलोपोस्टका खेल संवाददाता गोविन्दराज नेपालले गरेको कुराकानीमा आधारित)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell