PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

दुर्इ महिनाभित्रै सञ्चालनमा आउँदैछ फोरजी, कुनकुन स्मार्टफोनले सपोर्ट गर्छ? थाहा पाउनुस्



उमेश पौडेल

दुर्इ महिनाभित्रै सञ्चालनमा आउँदैछ फोरजी, कुनकुन स्मार्टफोनले सपोर्ट गर्छ? थाहा पाउनुस्

काठमाडौं : तपाईं नयाँ मोबाइल वा ट्याब किन्दै हुनुहुन्छ? एकपटक सोच्नुहोस्, तपाईंले किनेको मोबाइलले फोरजी सपोर्ट गर्छ कि गर्दैन?
 
किनकि नेपालमा दुर्इ महिनाभित्र चौथो पुस्ताको इन्टरनेट प्रविधि फोरजी सेवा आउँदैछ।
 
फोरजी सपोर्ट नगर्ने मोबाइलमा फोरजी चलाउन सकिँदैन। नेपालमा बिक्री भइरहेका सबै स्मार्टफोनमा फोरजी चल्दैन। यहाँ बिक्री भइरहेका होमग्रोन ब्राण्ड र विदेशी ब्राण्डका स्मार्टफोन सबैमा फोरजी सपोर्ट गर्दैन।
  
नेपालमा बहुप्रतीक्षित भनिएको फोरजी सेवाका लागि नेपाल टेलिकम र एनसेलले आवेदन दिएका छन्। प्राधिकरणले साउन महिनावाट सेवा विस्तार गर्ने भने पनि सेवा प्रदायक कम्पनीहरुले दुई महिनाको समय माग गरेपछि कात्तिकबाट यो सेवा आउन लागेको हो।
 

के हो फोरजी?

फोरजी अर्थात् फोर्थ जेनेरेसन एकखाले नेटवर्क हो। फोरजी थ्रिजीको विकसित रुपको नेटवर्क अन्तर्गतको मोबाइल टेलिकम्युनिकेसन प्रविधि हो। फोरजी प्रणालीले इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आइटियु) ले व्याख्या गरेअनुसारको सुविधा प्रदान गर्छ। यो सेवामा मोबाइल वेब एक्सेस, आइपी टेलिफोनी, गेमिङ सर्भिस, हाई डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रिडी टेलिभिजन र क्लाउड कम्प्युटिङ पर्छन्।
 

फोरजी चल्ने स्मार्टफोनहरु


एप्पल

मोबाइलको दुनियाँमा एप्पल सबैभन्दा रिनाउन्ड नाम हो। यो कम्पनीले धेरै किसिमका इलेक्ट्रोनिक्स डिभाइस बेच्ने गर्छ। एप्पलका स्मार्टफोन र ट्याबमा फोरजी सपोर्ट गर्ने डिभाइस छन्। एप्पलका लागि नेपालको आधिकारिक वितरक जेनेरेसन नेक्स्टका इन्टरप्राइज मेजेजर दीपक खनालले ब्राण्डेड खोज्ने मोबाइल प्रयोगकर्ता र फोरजी सपोर्टका लागि एप्पल सर्वोत्कृष्ट रहेको दाबी गरे।


हुवावे
विश्वबजारमा छोटो समयमै तहल्का मच्चाएको ब्राण्डमा पर्छ हुवावे। हुवावे नेपाली बजारमा समेत छोटो समयमै लोकप्रिय बनिसकेको छ। हुवावेको  १० वटा मोडेलमा फोरजी चल्छ। अक्टोबरबाट नेपालमा सुरु हुने फोरजी सेवाका लागि अझ थप सेटहरु ल्याउने हुवावेका सेल्स मेनेजर सागर सापकोटाले बताउँछन्। सापकोटाले फोरजी सेवा सुचारु भएपछि ग्राहकको मागअनुसार थप स्मार्टफोनहरु नेपाली बजारमा भित्र्याउने समेत जानकारी दिए।


कलर्स

होमग्रोन ब्राण्डमा विदेशी ब्राण्डेड फोनसँग प्रतिस्पर्धा गरिरहेको ब्राण्ड हो, कलर्स। २० लाखभन्दा बढी सेट बिक्री भइसकेको यो ब्राण्डका फोरजी सपोर्ट गर्ने दुई मोडलका स्मार्टफोन बिक्री भइरहेका छन्। कलर्स मोबाइलका लागि नेपालको अधिकृत बिक्रेता टेलिटक नेपालकी सिनियर मार्केटिङ एक्जुकेटिभ निरु धनाडाले फोरजीका लागि यो वर्षभित्र तीन वटा नयाँ मोडेलका स्मार्टफोनहरु ल्याउने बताइन्।


जिओनी

जिओनी पनि पछिल्लो समय नेपालको स्मार्टफोनको बजारमा राम्रो प्रभाव जमाउन सफल मोबाइल ब्राण्ड हो। कम्पनीले नेपालमा उपलब्ध दुई वटा मोडेलमा फोरजी चल्ने बताएको छ। अबको दुई महिनाभित्र तीन खाले नयाँ मोडेलका फोरजी सपोर्ट गर्ने स्मार्टफोनहरु ल्याउन लागेको जिओनीका मार्केटिङ एक्जुकेटिभ समिर ढुङ्गानाले बताए।


सामसुङ

नेपालमा बिक्री हुने मोबाइल बजारमा राम्रो हिस्सा ओगट्न सफल सामसुङ हो। नेपाली बजारमा सामसुङका १२ वटा मोडेलहरुमा फोरजी सपोर्ट हुन्छ। अबको दुई हप्तापछि दुर्इ वटा फोरजी सपोर्ट गर्ने मोडेलहरु थपिने आइएमएसका डेपुटी ट्रेनिङ मेनेजर दीपेश ढुंगानाले बताए।



माइक्रोम्याक्स

भारतीय मोबाइल कम्पनी माइक्रोम्याक्सले पनि नेपालमा तीन वटा मोडेलका स्मार्टफोनहरुमा फोरजी चल्ने जनाएको छ। केही समयअगाडि नै माइक्रोम्याक्सले फोरजीका लागि सपोर्ट गर्ने स्मार्टफोनहरु बजारमा ल्याएको थियो।


शाओमी

चिनियाँ इलेक्ट्रोनिक्स कम्पनी शाओमी ब्राण्डमा नेपालमा उपलब्ध सबै मोडेलमा स्मार्टफोनहरुमा फोरजी चल्ने जनाइएको छ। नेपालमा उपलब्ध सात वटा विभिन्न मोडेलमा स्मार्टफोनमा फोरजी चल्ने कम्पनीले जनाएको छ।


यी बाहेक नोकिया, सोनी, लेनोभो लगायतका कम्पनीहरुका पनि फोरजी सपोर्ट गर्ने स्मार्टफोनहरु बजारमा आउँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell