
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले आफ्नो कार्यकालमा पर्यटन क्षेत्रमा गर्नैपर्ने थुप्रै काम गर्न नसकेको स्वीकार गरेका छन्।
पर्यटन पत्रकार संघ (जाट-नेपाल) ले आज राजधानीमा गरेको कार्यक्रममा मन्त्री पोखरेलले भने, 'के गर्न सकिस् भन्दा मैले थुप्रै गर्न सकिनँ, जब मैले सपना साँचेर आएको थिएँ। जे गरेँ अत्यन्त थोरै मात्र गरेँ।ʼ
उनले आफूले गरेका धेरै काममध्ये नेपाल बुद्धिज्मको उद्गमस्थल हो भनेर प्रचार गराउन सक्नु ठूलो उपलब्धि भएको बताए। त्यस्तै मन्त्रालयको प्रस्तावअनुसार नेपालको स्वास्थ्य र शिक्षाका विषयमा ध्यान दिँदै योगको सुरुवात गरेको र नेपाल आउने पर्यटकलाई नेपालकै अर्गानिक परिकार खुवाउनुपर्छ भन्ने मान्यताअनुरुप पर्यटनसँग जोडेर १० वर्षे दीर्घकालिन कृषि रणनीति तयार पार्न सहयोग पुर्याएको उनको भनाइ छ। 'पर्यटन क्षेत्रको अहिलेको लगानीलाई सय गुणा नबढाईकन सोचेअनुरुप पर्यटनको विकास हुन सक्दैन,' उनले भने।
मन्त्री पोखरेलले विमानस्थलको सुधार गर्न नसकेकोमा पनि दु:ख व्यक्त गरे। ʽफेर्न खोजेको र फेर्न नसकेको भनेको एयरपोर्ट हो। तर जे जति भएको छ देखिनेगरी भएको छ,' उनले भने, 'सामान्य कर्मचारीलाई फोन गरेर सुधार गर भन्नुपर्ने अवस्था छ। एयरपोर्टको कामप्रति म सन्तुष्ट छैन।ʼ
एयरपोर्टका जुनसुकै स्तरका श्रमिक, कर्मचारीहरुलाई अनावश्यक फेरबदल गर्न नपाइने व्यवस्था रहेको भन्दै उनले कर्मचारीले पनि इमानदारीतापूर्वक काम गर्न आग्रह गरे।
मन्त्री पोखरेलले आफ्नो कार्यकालमा भएका ८५ बुँदे कामहरु सार्वजनिक गरेका थिए। सो बुँदामा २५६० औं बुद्ध जयन्तीका अवसरमा अन्तर्राष्ट्रिय स्तरको बौद्ध गोष्ठी सम्पन्न गरी गौतमबुद्धको जन्मस्थल र बुद्ध दर्शनको उद्गमस्थल नेपाल भन्ने तथ्यलाई उजागर गरेको, नेपालको पर्यटन प्रवर्द्धन रणनीति तर्जुमा गरी १० वर्षे सोचसहित कार्यक्रम सुरु गरेको, नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरी गति प्रदान गरेको, संघीयताअनुरुप प्रत्येक प्रदेशमा पर्यटन गन्तव्य निर्धारण गरी पूर्वाधार तयारीको लागि बजेटको व्यवस्थापन गरेको लगायतका विषयहरु समेटिएका छन्।