PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

सकियो सपनाको युग



किशोर नेपाल

सकियो सपनाको युग

प्रधानमन्त्रीको पदबाट निवृत्त हुन लागेका खड्गप्रसाद शर्मा ओलीको मनमा तुष र बिलौना बढी नै रहेको देखियो। फेसबुकमा उपलब्ध डिजिटल समाचारहरु सर्सरी अध्ययन गर्दा आफ्नो नायकत्वमा देश विकास हुन नपाएकोमा प्रम ओली रन्थनिएको देखियो। यो हिसाबले उनी पेशाले होइन, शोखको कारणले मात्र राजनीतिमा लागेका खेलाडी देखिए।

पद र मात्र पदको आकांक्षाले नै ओली प्रधानमन्त्री बनेका थिए। कांग्रेस नेतृत्वमा बनेको तथा आफ्नो पार्टी समाहित भएको सरकारलाई उनले जुन मनोयोगका साथ हटाउने खेल खेलेका थिए, त्यही खेल दोहोरियो राजनीतिको रजतपटमा। अचानक प्रम ओली नायकबाट खलनायकमा रुपान्तरित भए।

खेल यति छिटो सकिएला भन्ने विश्वास थिएन उनलाई। त्यस्तो विश्वास भएको भए उनले आफना समकक्षी शीर्षस्थ नेताहरुसँग लालिपप खोसिएको बच्चाको जस्तो व्यवहार पक्कै गर्ने थिएनन्। सहमतिको सरकार बनाउने विषयमा विचार–विमर्शका लागि बालुवाटार पुगेका पुष्पकमल दाहालसँग उनले गरेको व्यवहार र संसदमा प्रस्तुत भएको अविश्वासको मत छलेर राजीनामा गरेपछिका उनका अभिव्यक्तिहरु बडो टीठलाग्दा छन्। प्रम ओलीलाई लागेछ– यो नेपाल राष्ट्रको निर्माता पृथ्वीनारायण शाह भएजस्तै नेपाली भाग्यको निर्माता केपी शर्मा ओली नै हो। 

​तर, राजनीतिको वास्तविकता कठोर हुन्छ। राजनीतिमा लागेको हरेक मान्छेलाई देशको भाग्यविधाता आफैं हो जस्तो लाग्दछ। भर्चुअल संसारले नेताले सोचेको त्यस्तो कुराको उन्मादपूर्ण प्रचार गरी दिन्छन्। जबकि, वास्तविकता त्यस्तो हुँदैन। काठमाडौँमा बर्सातको  मौसममा कति बेला पानी पर्छ? थाहा हुँदैन। कति बेला पानी रहन्छ, घाम लाग्छ र शहरमा धुलो उड्न थाल्छ, त्यो पनि थाहा हुँदैन। बर्सातको समयमा पैदल यात्रुले मास्क र रेनकोट दुवै बोक्नु उचित हुन्छ। 

आफ्नो नौ महिने शासनमा प्रम ओलीले सपनाको खेती खुबै गरे। उनका सपना पत्याउने नेपालीको कमी रहेन। यी सपनाहरु संवेदनशील थिए। घरघरमा ग्यासको पाइप, पानी र हावा दुवैबाट बिजुली, पेट्रोलियमको उत्खनन्, विभिन्न खानीबाट सुन र फलामको उत्पादन– नेपालमा के छैन? भन्नेहरुका लागि प्रम ओलीका सपना विवरण देववाणी सरह थिए। त्यसमाथि काठमाडौंमा मेट्रो र केरुङबाट रेल आउने सपनाको त कुरै भएन। असमयमा नै प्रम ओलीले कुर्सी छाडनु नपरेको भए देश पृथ्वीको स्वर्ग बन्न बेर लाग्ने थिएन। अरुले दस वर्ष लगाएर गरेको काम हामीले एकै वर्षमा सक्नुपर्छ भन्ने राजा महेन्द्रको आदर्श वाक्यलाई हेक्कामा राखेर प्रम ओलीले चलाएको विकास अभियान असमयमा नै टुंगिएपछि अब सपनाको युग सकिएको छ। प्रम ओली समर्थकका आँखामा ती सबै व्यक्तिहरु राष्ट्रघाती, प्रतिगामी र विकास विरोधी ठहरिएका छन्, जसले यी सपनाका खिल्ली उडाएका थिए।

प्रम ओलीको सपनाको यो एउटा पक्षमात्र हो। यसको अर्को पक्षमा भयावह खालको नकारात्मकता छ। यी कुराहरु प्रम ओलीभन्दा पहिले पनि सोचिएका हुन्। तर, नेपालमा पाइने खनिजको न्युनताका कारण खानी र पेट्रोलियमको उत्पादन नभएको हो भन्ने सबैले बुझेका छन्। प्रम ओलीअघिका सरकारहरु पनि कम बाठा थिएनन्। नेपाली भूगर्भमा महत्वपूर्ण वस्तुहरुको उपस्थिति भएको भए तिनले आकाश–पाताल एक गरेर भए पनि ती वस्तुहरु उत्पादन गरिछोड्ने थिए। हरेक राजनीतिज्ञलाई लोकप्रिय हुन मन लाग्दछ, प्रम ओलीलाई मात्रै होइन । 

हो, केरुङको बाटो चिनियाँ रेल आउन नसक्ने होइन। त्यो हाम्रोभन्दा पनि चीनको आवश्यकता हो। नेपालबाट चीन र चीनबाट नेपाल मानिस र सीमित मालको ढुवानीका लागि मात्रै चीनले रेल ल्याइदिने होइन। रेल आइसकेपछि व्यापार हुनुपर्दछ। हामीसँग व्यापारयोग्य त्यस्तो वस्तु के नै छ र ढुवानीका लागि रेलै ल्याउनुपरोस्। चीनले हेर्ने भारतको बजार हो, जहाँसम्मको सुविधाजनक प्रवेशद्वार बन्न सक्छ नेपाल। भारतसँग नेपालको सम्बन्ध तनावपूर्ण रह्यो भने त्यसको अलिकति सम्भावना पनि रहँदैन। यी सपनाहरुको परिपूर्ति हुन नसकेको अवस्थामा नेपाली समाजमा त्यसले ल्याउने कुण्ठा र नैराश्यको हिसाब-किताब गर्न सकिँदैन। संसारका कुनै पनि सरकारले पूरा नहुने वा छिटो पूरा हुन नसक्ने सपना देख्दैनन्। त्यस्तो सपनाले मानिसलाई मानसिक संघातको स्थितिमा पुर्‍याउँछ। समाज अराजक बन्दछ। सकारात्मक भनिने चिन्तन प्रक्रियाप्रति मानिसको उदासीनता बढ्छ।

प्रम ओलीका सपनाहरु तुहिएका छन्। तर, उनका राजनीतिक बेइमानीहरुले नेपाली राजनीतिमा विश्वासको संकट उत्पन्न भएको छ। प्रम ओलीले जाँदाजाँदै छिमेकीले ‘छौंडा’ खेलाएर आफनो सरकार गिराएको बताएका छन्। पहाडका गाउँतिर ‘छौंडा खेलाउने’ शब्दको अर्थ राम्रो मानिँदैन। प्रम ओलीको गाउँतिर यस्ता उपमालाई कसरी हेरिन्छ? त्यो थाहा भएन। अहिलेको प्रसंगमा, यसको सग्लो अर्थ छिमेकीले मधेशका नेताको प्रयोग गरेर सरकार डुबाएको भन्ने लाग्दछ। मधेशका नेताहरुको माग र मधेशका जनताको भावनाप्रति प्रम ओलीको दुर्भाव नयाँ विषय होइन। तीन दलको खटनअनुसार, मधेशीले अहिलेको एक थान संविधानमाथि प्रश्न उठाए भन्दैमा उनीहरुको राष्ट्रिय भावनामा औंला ठड्याउनु उचित थिएन। प्रम ओलीले आफनो सरकारको प्रतिरक्षामा राष्ट्रवाद शब्दको जति दुरुपयोग गरे त्यसले नेपाली राष्ट्रवादको अहित गरेको छ। नेपालमा प्रम ओली र उनको दलमात्रै राष्ट्रवादी अरु सबै अराष्ट्रिय भन्ने जुन प्रचारबाजी उनका तर्फबाट वा उनका नाममा भयो त्यसको प्रभाव केही समयपछि नै देखिनेछ। राष्ट्रवाद भनेको राजनीतिको हतियार बनाउन नहुने विषय हो। वैचारिक रुपले जतिसुकै विविध र विभाजित भए पनि राष्ट्रियताको मामिलामा नेपालीहरु एकै ठाउँमा उभिएका छन्। यो अवस्थामा चिरा पार्न खोज्नु जायज थिएन।

धेरै सरकारहरु देखिसके नेपाली जनताले। अर्को सरकार संघारमा आइसकेको छ। जनताले यी सरकारहरुसँग कुनै आशा राख्नुको केही अर्थ छैन। समयावधि नतोकी परिवर्तन भइरहने सरकारप्रति निरपेक्ष रहनु नै जनताको हितमा हुनेछ। अहिले जनताले अक्कासिँदो बजार भाउबाट मुक्ति खोजेका छन्। शिक्षा, स्वास्थ्य, ऊर्जा, स्थानीय विकास सबैतिरका बेथितिको समाप्ति चाहेका छन्। सबैलाई थाहा छ, सरकारले त्यसो गर्न सक्दैन। जनतामा सरकारप्रति आशाको होइन, निरपेक्षताको भाव नबढेसम्म सरकार फेरबदल गर्ने नाटकको पटाक्षेप हुँदैन। राजनीति तमाशा बनेको अहिलेको अवस्थामा जनता तमाशेको नियति भोग्न बाध्य छन्। यो नै विडम्नाब बनेको छ राजनीतिको।

पक्ष-विपक्षको प्रदूषित तर्कनाले घुर्मैलो बनाएको अहिलेको राजनीतिक मौसममा जनताले मास्क लगाएर रेनकोट ओढ्नु नै उचित हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell