काठमाडौँ : २९२ दिनपछि ‘पूर्व प्रधानमन्त्री’ बन्दै केपी शर्मा ओली भोलि बुधबार प्रधानमन्त्री निवास बालुवाटारबाट आफ्नो निजी निवास बालकोट सर्ने भएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले ओली बुधबार साँझ बालुवाटारबाट सर्ने जानकारी दिए। ‘कति बजे भन्ने यकिन समय निश्चित भइसकेको छैन’, उनले भने, 'साँझतिर हुन्छ होला।'
ओली बालकोटबाट बालुवाटार पनि साँझ नै सरेका थिए। २०७२ साल असोज २४ गते प्रधानमन्त्री निर्वाचित भए पनि पाँच दिनपछि अर्थात् असोज २९ गते मात्रै बालुवाटार सरेका थिए।
प्रधानमन्त्रीका रुपमा ओली बालुवाटार प्रवेश गर्ने क्रममा उनकी पत्नीलाई निवासको साँचो प्रदान गर्दै। फाइल फोटो : रासस
प्रधानमन्त्री निर्वाचित भइसके पनि पाँच दिन उनी बालकोटस्थित निवास मै बसेका थिए। प्रधानमन्त्रीमा पराजित भइसके पनि फर्कन लाग्दा घर नभएको र औँसीमा सर्नु हुन्न भनेकाले सुशील कोइराला दुई दिन बालुवाटारमै बसेका थिए।
बालुवाटार प्रवेश गरेको पहिलो दिन सेनाको टुकडीले प्रम ओलीलाई सलामी दिँदै। फाइल फोटो : रासस
बुधबार बिहान ११ बजे बस्ने व्यवस्थापिका संसदको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री निर्वाचित गर्दैछ। कांग्रेस र मधेसी मोर्चाको पनि समर्थन पाएपछि प्रचण्ड प्रधानमन्त्री बन्ने निश्चित भएको हो।
संविधान घोषणा भएको भएको एक वर्ष नबित्दै दोस्रो पटक प्रधानमन्त्रीको निर्वाचन हुन लागेको हो।