PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

सपना देखेकोमा मन्त्रिपरिषद्को अन्तिम बैठकले दियो प्रधानमन्त्री ओलीलाई धन्यवाद



रमेश वाग्ले

सपना देखेकोमा मन्त्रिपरिषद्को अन्तिम बैठकले दियो प्रधानमन्त्री ओलीलाई धन्यवाद

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकाल अरु प्रधानमन्त्रीभन्दा फरक उनले देखाएका सपनाका कारण पनि रह्यो। उनको सपनालाई केहीले हावादारी भनी उडाए पनि मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को अन्तिम बैठकले भने सपनाका लागि धन्यवाद दिएको छ।  

‘प्रधानमन्त्रीले सपना देख्नुभयो र त्यस्लाई कार्यान्वयन गर्न योजना पनि दिनुभयो,’ बैठकको निर्णय सुनाउँदै संचार मन्त्री तथा सरकारका प्रवक्ता शेरधन राईले भने, 'मन्त्रिपरिषद् बैठकले नौ महिने कार्यकालको समीक्षा गर्दै प्रधानमन्त्रीको सक्षम नेतृत्व, स्पष्ट अडान र स्वाधिनताका पक्षको स्पष्ट दृष्टिकोणले यो मन्त्रिपरिषद्को सफलता प्राप्त भएकोले मन्त्रीहरुका तर्फबाट धन्यवाद ज्ञापन गरिएको छ।’ 

बैठकले तीन वटा निर्णय गरेको छ। त्यसमध्ये एउटा निर्णय हो - केपी ओलीलाई नै धन्यवाद दिने। 

बैठकले सरकारले ल्याएका राम्रा कार्यक्रमको कार्यान्वयनका लागि दह्रो रुपमा उभिने निर्णय गरेको छ। यस्तै  बैठकले नौ महिने कार्यकाल सफल बनाउन सहयोग गर्ने कर्मचारीतन्त्र, सुरक्षा निकाय, कुटनीतिक नियोग, मित्रराष्ट्रहरु, मिडिया तथा सबैलाई धन्यवाद दिने निर्णय गरेको छ।

बैठक सकेर फोटोसेसन गरेका प्रधानमन्त्री केपी ओली अधिकांश मन्त्रीहरु बाहिरिएपछि आफ्नै पार्टीका तीन मन्त्रीलाई साथमा लिएर बाहिरिए। बाहिरिने क्रममा पनि फोटो सेसनमा उभिएर साथ दिए। उनले पत्रकारलाई हात हल्लाए र भन्दै हिँडे - पत्रकारको जय होस्। 

उनले तीन पटकसम्म दोहोर्‍याए,  ‘पत्रकारको जय होस!’

त्यसो भनेर बनावटी हाँसो दिए पनि उनको निरासा भने अनुहारमा झल्कन्थ्यो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell