PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

​ओली सरकारको अन्तिम मन्त्रिपरिषद् बैठकका पाँच रोचक दृश्य



रमेश वाग्ले

​ओली सरकारको अन्तिम मन्त्रिपरिषद् बैठकका पाँच रोचक दृश्य

काठमाडौँ : केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदको अन्तिम बैठक मंगलबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्यो। बैठकका पाँच रोचक दृश्य यस्ता छन्-

१) ४२ सदस्यीय मन्त्रीमण्डलमा अन्तिमसम्म १४ को मात्र साथ

गएको असोज १४ मा प्रधानमन्त्री निर्वाचित भएका केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्री चुनावको एक दिनअघि अन्तिम मन्त्रिपरिषद् बैठक डाकेर विदा लिएका छन्। गठबन्धन टिकाउन ६ जना उपप्रधानमन्त्री र ४२ सदस्यीय मन्त्रिमण्डल बनाएका ओली अन्तिम दिन विदा हुनुअघि ‘फोटो सेसन’ गर्दा १४ जना मन्त्रीको मात्र साथ थियो।
 

२) उपप्रधानमन्त्रीको साथ

नेपालको इतिहासमै सबैभन्दा धेरै ६ जना उपप्रधानमन्त्री बनाएका प्रधानमन्त्री केपी ओलीलाई अन्तिमसम्म बहुमत उपप्रधानमन्त्रीले साथ दिए। उपप्रधानमन्त्रीहरु सीपी मैनाली, चित्रबहादुर केसी, कमल थापा र भिम रावल अन्तिम मन्त्रिपरिषद् बैठकसम्म ओलीको साथमा बसे भने उपप्रधानमन्त्रीहरु विजय गच्छदार र टोपबहादुर रायमाझीले साथ छोडे। 

उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पार्टीको निर्णयका कारण गत असार २९ देखि नै मन्त्रिपरिषद्बाट बाहिरिए भने अन्तिम समयमा आएर विजय गच्छदारले साथ छोडे। 

३) खै कमल थापाको राष्ट्रिय पोशाक?

रोचक पक्ष त के थियो भने केपी ओलीको उपप्रधानमन्त्री हुन सपथ खाँदादेखि मन्त्री बहाल रहेका बेला दौरा सुरुवाल कोटमा सबैभन्दा टिपटप बनेर हिँड्ने कमल थापा अन्तिम मन्त्रिरिषद बैठकमा कुर्ता सुरुवालमा जुहारी कोट लगाएर बसेका थिए। उनले सदा लगाउने ढाका टोपी पनि मंगलबारको मन्त्रिपरिषद बैठकमा लगाएका थिएनन्। 

४) चित्रबहादुरको हतारो

केपी ओलीलाई अन्तिमसम्म साथ दिएका उपप्रधानमन्त्री चित्रबहादुर केसी मन्त्रिपरिषद् बैठक लगत्तै बाहिरिए। उनी अन्तिम मन्त्रिपरिषद् बैठकपछिको फोटो सेसनमा सहभागी भएनन्। 

५) भीम रावल उस्तै

अर्का उपप्रधानमन्त्री तथा उनकै पार्टीका नेता भीम रावल भने सपथ ग्रहण समारोहमा जस्तै दौरा सुरुवाल टोपी र उनले सदाझै लगाउने पेटीसहित चिटिक्क सजिएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell