
काठमाडौं : केही समयअघि पोखरामा नक्कली एटिएम कार्ड बनाएर ठगी गरेको आरोपमा विराटनगरका कोषराज भट्टराई र दोलखाका लीलाबहादुर बाणा समातिए।
उनीहरुले करिब चार महिनाको अवधिमा पाँच लाखभन्दा बढी रकम एटिएमबाट निकालेको देखिएको छ। यो घटनाले नक्कली एटिएम कार्ड बनाउँदै बनाएर रकम झिक्नमा नेपालीहरु पनि सामेल रहेछन् भन्ने देखाउँछ।
दुई जना समातिनुभन्दा केही समयअघि प्रहरीले राजधानीमा एटिएमबाट ठगी गर्ने र बैंकको साइट ह्याक गरेर ठगी गर्नेलाई पक्राउ गरेको थियो। यसरी पक्राउ पर्नेहरुमा विदेशी मात्र देखिएका थिए। ठगीमा बुल्गेरियन, भारतीय, बंगलादेशी, पाकिस्थानी, टर्किस नागरिक थिए। उनीहरुले विभिन्न बैंकबाट विभिन्न खाताको एक करोडभन्दा बढी रकम ठगी गरेको देखिएको हो।
बैंकहरुले अनलाइन सर्भिसमार्फत ग्राहकलाई सेवा दिने र एटिएम कार्डको प्रयोगसँगै यस्तो ठगी हुने गरेको महानगरीय अपराध अनुसन्धानका डिएसपी पशुपति राय बताउँछन्। केही समयअघि यस्ता घटना बढे पनि अहिले केही व्यक्ति पक्राउपछि घटेको उनको दाबी छ।
कसरी बन्छ नक्कली एटिएम?
बैंक तथा नक्कली एटिएम कार्ड बनाएर ठगी गर्ने गिरोहले बैंकको सफ्टवेयर ह्याक गरेर व्यक्तिको विवरण निकालेर नक्कली एटिएम बनाउने गरेका छन्। उनीहरुले एटिएम बुथबाट पैसा निकालेर छाडेका रसिदबाट पनि विवरण लिएर नक्कली कार्ड बनाउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। त्यस्तैगरी उनीहरुले बैंकका कर्मचारीसँग समेत मिलोमतो गरेर पनि नक्कली कार्ड बनाउँछन्।सुरक्षित कसरी हुने?
एटिएम प्रयोगकर्ताको लापरबाहीका कारण कतिपय ठगी गर्नेलाई सहयोग हुने गरेको प्रहरीको भनाइ छ। पैसा निकालेको रसिद या स्लिप एटिएम बुथमा नै छोड्दा उनीहरुले व्यक्तिको विवरण लिने गरेका छन्।त्यसैले पनि आफ्नो पैसा निकालेको कुनै पनि स्लिप नछोड्न प्रहरीको अनुरोध छ। बेलाबेलामा आफ्नो पिन कोड चेन्ज गरिरहनुपर्छ। बैंकले पनि प्रयोगकर्तालाई एटिएम कार्डको सुरक्षा र प्रयोग गर्न तरिकाबारे जानकारी गराइराख्नुपर्छ।