PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

लाजिम्पाट निवासबाट आज बिहान ९:३५ मै निस्किए प्रचण्‍ड



सविन ढकाल

लाजिम्पाट निवासबाट आज बिहान ९:३५ मै निस्किए प्रचण्‍ड

काठमाडौं : आज प्रधानमन्त्रीका लागि एक्लो दौडमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तयारी कस्तो होला?
 
धेरैका लागि यो चासोको विषय हुन सक्छ। व्यवस्थापिका संसदमा हुने निर्वाचनमा उनी एक्ला उम्मेदवार भएकाले पनि उनीमाथि धेरैको चासो हुनु स्वाभाविक हो।
 
बिहान ११ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ। बिहानैदेखि प्रचण्डको हतारो कस्तो रह्यो त? हामी नियाल्न बिहानै लाजिम्पाटस्थित उनको निवास पुगेका थियौं।
 
तर आज बिहान उनको निवास परिसर अन्य दिनमा भन्दा सुनसान देखियो। प्रचण्डलाई शुभकामना दिन कुनै कार्यकर्ता, नेता, शुभचिन्तकको उपस्थिति थिएन, जुन हामीले सोचेका थियौं। यद्यपि माओवादी केन्द्रका नेता वर्षमान पुन र जनार्दन शर्मा शुभकामना दिन प्रचण्ड निवास नै पुगेका थिए।
 


११ बजेदेखि बानेश्वरस्थित व्यवस्थापिका संसद भवनमा निर्वाचन प्रक्रिया सुरु हुने भए पनि प्रचण्ड भने बिहान ९ बजेर ३५ मिनेट जाँदा निवासबाट निस्किए। निर्वाचन सुरु हुनुभन्दा झन्डै डेढ घन्टाअघि नै उनी निवासबाट बाहिरिएका हुन्।

 
निर्वाचनअघि नै उनी गठबन्धनसँग सरकार सञ्चालनको विषयमा छलफलमा व्यस्त हुनेछन्। उनी बैठक सकाएर निवास भने फर्कनेछैनन्।
 
देशको प्रधानमन्त्री बन्ने एक्लो दौडमा निस्किएका उनको निधारमा शुभकामनाको रातो टीका भने थिएन। घरबाट बिदाइ गर्दा न त साइत हेरियो, न त फूल-घडा नै बिछ्याइयो। सदाझैं सामान्य अवस्थामा उनी बानेश्वरतिर हुइँकिए।


निलो कोट-पाइन्ट र सेतो सर्टमा तयार भएका प्रचण्डको अनुहारमा आतुरी र खुसीको रङ भने पोतिएको देख्न सकिन्थ्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell