
काठमाडौं : कांग्रेस-माओवादी र मधेसी मोर्चाबीच हिजो तयार भएको तीन बुँदै सहमतिमा केही बेरमा हस्ताक्षर हुने भएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठनका लागि उम्मेदवारी दर्ता भएसँगै हिजो तीन बुँदे सहमति भएको थियो।
प्रधानमन्त्रीको निर्वाचन सुरु हुनुअघि नै हस्ताक्षर गरिने सद्भावना पार्टीका सहअध्यक्ष तथा सांसद लक्ष्मणलाल कर्णले बताए। मोर्चाले प्रधानमन्त्री चुनावमा जानुअघि कांग्रेस र माओवादीले केही न केही लिखित प्रतिबद्धता जनाउनुपर्ने बताउँदै आएको थियो।
मोर्चाका नेताहरुबीच साँझ भएको आन्तरिक छलफलमा सरकारमा जाने या नजाने विषयमा मतभेद समेत भएको थियो। भोट हाल्ने र नहाल्ने विषयमा मत विभाजन भएपछि पुन: बसेको बैठकले चुनावी प्रक्रियाअघि नै हस्ताक्षर हुने वातावरण तयार गरेको हो।
लामो समयदेखि आन्दोलनरत मधेसी मोर्चालाई अब बन्ने सरकारको समर्थन रहने गरी ३ बुँदे सहमति भएको हो। सहमतिअनुसार नयाँ सरकार गठन भएलगत्तै मधेस आन्दोलनका क्रममा घाइते भएकाको उपचार खर्च र मृत्यु भएकालाई सहिद घोषणा गरिनेछ।
मधेसी दलहरुले राख्दै आएको संविधान संशोधनको मागलाई सुनुवाइ गर्न संविधान संशोधनको प्रक्रिया अघि बढाइने सहमतिमा उल्लेख छ।