
काठमाडौं : सत्ताबाट बाहिरिँदै गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बन्न लागेका नयाँ प्रधानमन्त्री प्रचण्डले आफ्नै शैलीमा जवाफ फर्काए। अविश्वासको प्रस्ताव आएपछि प्रधानमन्त्री ओलीले प्रचण्डविरुद्ध लामै अभिव्यक्ति दिएका थिए। त्यसको 'प्रत्युत्तर नदिइ भएन' भन्दै उनले आज संसदमा जवाफ फर्काए।
बजेट व्यवहारिक नभए सपनाभन्दा केही पनि हुन नसक्ने बताउँदै प्रचण्डले भने, 'प्रधानमन्त्रीले जिल्लामा सुरु गर्ने विकासका आयोजना नयाँ सरकारले पनि गर्छ। तर बजेट नभइ कुरा र सपनामात्रै बाँडिएको छ भने ती सपना जनताका लागि आकर्षक र मनोरन्जक हुन सके पनि सपना सपना नै हो।'
पेट्रोललाई पाइपबाट घरघरमा पुर्याउने र पानी जहाज चलाउने ओलीको अभिव्यक्तिप्रति व्यङ्ग्य गर्दै प्रचण्डले भने, 'तपाईँले बजेट नछुट्याई पानी जहाज, पाइपलाइनको कुरा गर्नु तारा झार्ने कुरा हो त्यो सपना नै हुन्छ।'
विकास निर्माणका विषयमा सरकारले चालेका कदमलाई निरन्तरता दिइरहने उनले बताए। 'हामीसमेत भएको सरकारले दुई वर्षमा उर्जा र कृषिमा समृद्ध बनाउनेदेखि सामाजिक सुरक्षाका कार्यक्रमहरु बारे सरकारले विनियोजन गरेका सबै कार्यक्रम कार्यान्वयन हुन्छ,' उनले भने, 'र, बजेट नभएको ठाउँमा बजेट तय गरी अझै बढी जनमुखी काम हुनेछ।'