
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानलाई सर्वस्विकार्य बनाउन आफ्नो पार्टीको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
आज व्यवस्थापिका संसदमा प्रधानमन्त्रीका उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै उनले आन्दोलनरत पक्षसँग सहमति गरेर अगाडि बढे संविधानमा कुनै समस्या नआउने बताए।
'हामीले विगतमा भएका परिवर्तन संस्थागत गर्न संविधान बनाए पनि यसको सर्वस्विकार्यताको वातावरण निर्माण भइसकेको छैन,' उनले भने, 'अहिले तराई मधेसका विषयमा सहमति भएको छ। तराईको मुद्दा संशोधन गरेर भए पनि सर्वस्विकार्यता बनाउन हामी अब लागिसकेका छौं।'
अब नयाँ सरकार बने पनि राष्ट्रिय हित र नीतिमा सबै एकै भएर हिँड्न पनि उनले आग्रह गरे। 'विश्वास र अविश्वास धरै ठूलो कुरा होइन। प्रजातान्त्रिक अभ्यासमा मैले धेरे पटक खाइसकेको हो,' उनको भनाइ थियो, 'शान्तिपूर्ण सत्ता परिवर्तन भनेको प्रजातन्त्रको सुन्दरता हो र यो अभ्यास जति परिपक्व हुन्छ त्यसले नेपालकै हित गर्छ। माओवादी पनि यही बाटोमा आएको विश्वास भएर नै हो।'
स्थायी शान्ति भएमात्रै नेपाल अगाडि बढ्ने भन्दै सभापति देउवाले यसका लागि प्रमुख सर्त नै शान्ति रहेको बताए। छिमेकीसँगको आपसी सम्बन्धलाई कायम राख्दै अघि बढ्नुपर्नेमा जोड दिएका उनले ठूला राष्ट्रका बीच खेल्ने काम गर्न नहुने भनाइ राखे। भारत र चीन दुवैसँग राम्रो सम्बन्ध राखेर राष्ट्रिय हितमा काम गर्न र अरु देशसँग पनि राम्रो सम्बन्ध बनाई विकासका अगाडि बढ्न आवश्यक रहेको भन्दै उनले थपे, 'साथी बदल्न सकिन्छ तर छिमेकी बदल्न सकिन्न।'
विदेश नीति र राष्ट्रिय नीतिका बारेमा भारत र चीनको सहयोगलाई आफ्नै हितमा उपयोग गर्नुपर्ने उनको भनाइ थियो। गएको सरकारलाई मात्रै दोष दिएर नहुने भन्दै उनले अब आउने सरकारले पनि भूकम्पपीडितलाई राहत र सुविधाको व्यवस्था गर्नुपर्ने बताए।