.jpg)
काठमाडौं : संविधानसभा र गणतन्त्र घोषणापछि प्रधानमन्त्री बन्नेहरु सबै अल्पआयुकै रहे। गिरिजाप्रसाद कोइराला संक्रमणकालीन प्रधानमन्त्रीका रुपमा लामो समय टिके तर त्यसयताका प्रधानमन्त्रीहरु संसदीय अभ्यासबाटै गलहत्याइए। राजनीतिक दलहरुबीच समीकरणहरु पनि अदलबदल भइरह्यो। गणतन्त्रको घोषणापछि सबैभन्दा लामो समय सत्तामा रहे सुशील कोइराला। उनीपछि सबैभन्दा लामो समय टिकेका प्रधानमन्त्री हुन् नेकपा एमालेका माधवकुमार नेपाल। नेपालको संसदीय राजनीतिमा माधव कुमार नेपाल सबैभन्दा लामो समय प्रधानमन्त्री बन्न सफल नेता हुन् बाँकी सबै ९ महिनाभन्दा कम आयुमै पदबाट विस्थापित भएका छन्। केपी शर्मा ओली प्रधानमन्त्री पदमा पनि ९ महिनामात्रै रहन सके। माधव नेपालले बनाएको सबैभन्दा लामो अवधिको कम्युनिस्ट प्रधानमन्त्रीको रेकर्ड केपी ओलीले ब्रेक गर्न असफल रहे।
प्रधानमन्त्रीमा गिरिजाप्रसाद कोइरालालाई विस्थापित गरेर तत्कालिन सबैभन्दा ठूलो राजनीतिक दलका नेता पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा पुगे। २ सय ८० दिन सत्तामा रहेका उनले 'क्रान्तिकारी' कदमहरु चाले जसले उनको सत्ता आयु ह्वात्तै घटायो। पशुपतिमा पुजारी फेर्नेदेखि प्रधान सेनापति चयनका विषयले अन्तत: प्रचण्डलाई सत्ताको बागडोरबाट बाहिर्यायो।
प्रचण्डलाई सत्ताबाट बाहिर्याएपछि अर्का कम्युनिष्ट नेता माधवकुमार नेपाल प्रधानमन्त्री बने। ६ सय २२ दिन प्रधानमन्त्री रहेका उनले २० महिना शासन गरे। उनको कार्यकालमा नेकपा माओवादीले १८ दिने आम हड्तालको घोषणा गर्यो र मुलुक ठप्पै पार्यो। त्यतिखेर 'राष्ट्रवाद' कै नारामा प्रचण्डको नेतृत्वले माधव नेपाल सरकारलाई सडकबाट हत्याउने रणनीति लिएको थियो। तर, प्रधानमन्त्री माधव नेपालको सरकारलाई हल्लाउनसमेत सकेन त्यस आन्दोलनले किनकि तोकेको समयसम्म आन्दोलन असफल भएर आन्दोलनकारी तितरवितर भइसकेका थिए। घोषित दिनभन्दा १० दिनअघि नै आन्दोलन फ्लप भइसकेको थियो। राजिनामा दिएर पनि लामो समय प्रधानमन्त्री रहिरहे माधव नेपाल।
माधव नेपालपछि नेकपा एमालेकै झलनाथ खनाल प्रधानमन्त्री भए। उनी २ सय ४ दिन प्रधानमन्त्री कायम रहे। खनालको कार्यकाल औशत रुपमा सकियो र उनलाई विस्थपित गरे डाक्टर बाबुराम भट्टराईले। तुलनात्मक रुपमा अन्य कम्युनिस्ट नेताभन्दा बाबुराम भट्टराई सत्तामा बढी टिके। यद्यपि संविधान जारी गर्न असफल प्रधानमन्त्रीका रुपमा उनी चिनिन्छन्। झन्डै १९ महिना सत्तामा रहे बाबुराम भट्टराई। उनको राजनीतिक कदम संवैधानिक जटिलताहरुले घेरिएका थिए। दलीय शासनलाई न्यायाधीशको कब्जामा पुर्याएको आरोप बाबुरामले सधै पाउने गरेका छन्। प्रजातान्त्रिक अभ्यास रहँदा रहँदै पनि प्रधान न्यायाधीश खिलराज रेग्मी मुलुकको कार्यकारी बन्न पुगे। उनकै नेतृत्वमा दोस्रो संविधानसभा निर्वाचन भयो। उनको मन्त्रिपरिषदमा सबैजसो पूर्व कर्मचारीहरु थिए।
दोस्रो संविधानसभा निर्वाचनको परिणाम पहिलो संविधानसभाको भन्दा पूरै फरक रह्यो। पहिलो संविधानसभामा सबैभन्दा ठूलो दलका रुपमा रहेका माओवादीहरु तेस्रो स्थानमा पुगे। कमल थापाको राप्रापा नेपालजस्ता दलहरु शक्तिमा आए। सबैभन्दा ठूलो राजनीतिक दलका नेताका हैसियतमा सुशील कोइराला सत्तामा आए। करिब साढे २ वर्ष प्रधानमन्त्री रहेका सुशील कोइरालाले संविधान जारी गरे। नयाँ संविधानपछि सरकार परिवर्तन हुँदा उनलाई नेकपा एमालेका अध्यक्ष केपी ओलीले एनेकपा माओवादीका अध्यक्ष प्रचण्डसहितको समर्थनमा विस्थापित गरे।
सत्ताको राजनीतिमा समर्थन गर्ने र गलहत्याउने परम्परा जारी छ। र, यो क्रममा अहिले केपी सरकारको कठालो समातेर निकालिएको छ। उनैलाई समर्थन गर्दै प्रधानमन्त्री बनाउने प्रचण्डले ओलीलाई विस्थापित गरेका छन्। नेपाली कांग्रेस र मधेसवादी दलहरुसहितको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डको सत्ता आयु कति लामो हुने हो भविष्यले नै निर्धारण गर्नेछ।