
काठमाडौं : नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निवासमै पुगेर भारतीय राजदूत रन्जीत रेले बधाई तथा शुभकामना दिएका छन्।
प्रचण्ड निवास लाजिम्पाट पुगेका राजदूत रेले बधाई ज्ञापन गर्दै कार्यकाल सफल रहोस् भनी शुभकामना दिएको प्रचण्डको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै हिजै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शुभकामना दिएका थिए। प्रचण्ड सरकारलाई पूर्ण सहयोग गर्ने बताउँदै उनले भारत भ्रमणको निम्तासमेत दिएका छन्।
यस्तै, गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष शेष घलेले पनि अर्थव्यवस्था सुदृढ गर्न र मुलुकलाई समृद्धिको मार्गतर्फ अग्रसर बनाउन सफलता मिलोस् भन्दै प्रधानमन्त्रीमा प्रचण्डलाई शुभकामना व्यक्त गरेका छन्।
एक बधाई सन्देश जारी गर्दै उनले भनेका छन्, 'पुनर्निर्माणले गति पाउने र संविधान कार्यान्वयनको मार्ग प्रशस्त भई मुलुक क्रमश: स्थायीत्व र आर्थिक समृद्ध हुनेमा संसारभरि छरिएर रहेका हामी गैरआवासीय नेपालीहरु आशावादी छौं।' यसका लागि सरकारसँग हातेमालो गरेर अगाडि बढ्न संघ सधैं तत्पर रहेको पनि उनले उल्लेख गरेका छन्।