- खगेन्द्र संग्रौला
उहाँका केही कमजोर पक्ष छन्, जसले पार्टीका साथै स्वयंलाई पनि हानि पुर्याएको हामीले देख्दै आएका छौं। ती कमजोरीबारे म संक्षिप्तमा बताउँछु।
१. हतारमा निर्णय
जथाभावी बोल्ने गर्नुहुन्छ उहाँ। अविश्वासको आशंकाले ग्रस्त समाजमा रहेपछि यत्तिको जिम्मेवार व्यक्तिले तौलेर बोल्नुपर्ने हो तर उहाँमा त्यो स्वभाव छैन।
उहाँको जिब्रो नै खुकुलो छ, यसलाई दुईजिब्रे पनि भन्छन् कतिपय। बोल्नुअघि सोच्नुहुन्न र भावुकतामा निर्णय गर्नुहुन्छ। गलत निर्णय गरिएछ भन्ने लागेपछि पश्चाताप त गर्नुहुन्छ तर त्यो गम्भीर पश्चाताप हुँदैन। यदि हुन्थ्यो भने त फेरि गल्ती नदोहोरिनुपर्ने।
सधैं एउटै कथन र रटान दिइराख्नुहुन्छ उहाँ, सँगसँगै त्रुटि पनि दोहोर्याइरहनुहुन्छ।
२. पुत्रमोह
पुत्र प्रकाशका विवादहरु छताछुल्ल भएपछि अलि कडाइ गरेजस्तो देखियो तर अहिले पनि सचिवालयमा उनै पुत्र छन् क्यारे।
ठूलो जिम्मेवारीमा रहेपछि छोराछोरीको मोह अप्ठेरो बन्न पुग्छ। प्रकाशका कुरा आमाले सुन्ने, आमाले पतिसँग घुर्की लगाउने भएपछि त समस्या आइहाल्छ।
पुत्रमोहमा परेर विचलित हुने पनि देखिन्छ कहिलेकाहीँ। राजनीतिमा लागिसकेपछि पारिवारिक सम्बन्धमा कठोर हुनुपर्छ, उहाँमा त्यो कठोरता छैन।
प्रकाशमात्र नभई प्रचण्ड त अब तीन करोड नेपालीको अभिभावक पनि हो।
३. गुलामी चरित्र
पहिले १६ बुँदे सहमति गर्दा प्रचण्डले नै केपी ओलीलाई 'देउता' बनाउनुभयो। प्रधानमन्त्री बन्न प्रस्ताव गर्नुभयो। यतिमात्र होइन राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई पनि प्रस्ताव गर्नुभयो।
यसलाई त म प्रस्ताव वा समर्थनभन्दा पनि 'गुलामी' भन्न रुचाउँछु।
अहिले आफूले प्रस्ताव गरेको प्रधानमन्त्रीविरुद्ध नै अविश्वासको प्रस्ताव पेश गरिदनुभयो। त्यो त चिन्तन र चरित्रमा संगति देखिएन। लोकका लागि यो विश्वसनीय हुँदै होइन।
४. सामूहिकताको अभाव
माओवादी आफैं संरचनागत र प्रणालीमा उभिएको पार्टी होइन। यसमा सामूहिकता नै देखिन्न।
पहिले पनि उनको निर्वाचनका बेला म तराईमा थिएँ। मान्छेको ठूलो भिड लागेको थियो तर पछि त सोचेजति मत आएन। अर्को क्षेत्रमा त पराजय नै बेहोर्नुभयो। नेताका अघिपछि जति भिड देखिन्छ तर जनताले चुनावमा हो निर्णय दिने।
संगठन निर्माणमा सुधार नगरे र जनतासामु जान नसके अर्को चुनावमा तेस्रो पार्टीको हैसियत माओवादी आफैंले खुम्च्याउँछ।
५. अरुको कुरा नसुन्ने
तेस्रो पार्टी बने पनि माओवादीका समर्थक र सल्लाह-सुझाव दिनेको संख्या त ठूलै छ। अघिल्लो पटक प्रधानमन्त्री हुँदा प्रचण्डसँग मेरो भेट भइरहन्थेँ। असल काम गर्नुपर्छ भनेर केही सुझाव पनि दिइन्थ्यो तर उहाँले कुम र भुँडी हल्लाइरहनुभयो कुनै सुनुवाइ गर्नु नै भएन। कार्यान्वयन त परको कुरो भइहाल्यो।
असल वा खराब के हो भनेर अरुको सल्लाह नै मान्नुहुन्न। बाहिरका कसैको सल्लाह नमानेपछि उहाँ आफैं जे गर्नुहुन्छ त्यही हो सतहमा देखिने।
६. कार्यकर्तासँग टाढा
जनता र कार्यकर्तासँगको सम्पर्क र निकटतामा उहाँ कमजोर हुनुहुन्छ। समूह निर्माणमा पनि सबल हुनुहुन्न। पार्टी एकीकरण त भन्नुभयो तर बूढाखाडालाई ल्याएर पार्टीमा वृद्धाश्रम खडा गर्नुभयो।
७. अहम्
जनयुद्धका बेला प्रचण्डलाई 'प्रचण्डपथ'को रुपमा देउता बनाइयो। यसमा किरणजी (मोहन वैद्य) नै प्रायोजित रुपमा लाग्नु भएको थियो कि भन्ने लाग्छ।
देउता बनाएपछि त त्यसले भक्तको कुरा सुन्दैन। अरुको जयजयकारमै मग्न रहन्छ। जगतमा मै मात्र सर्वव्यापी, सर्वज्ञ हुँ भन्ने लाग्छ। प्रचण्डजीमा पनि त्यो देखिन्छ।
८. माओवादी अर्थात् गिटीको थुप्रो
एक त माओवादी पार्टी, पार्टी जस्तै भएन। यो त गिटीको थुप्रो बन्दै गयो, देख्नलाई चाहिँ ठूलो थुप्रो देखिन्छ तर गिटीका टुक्रा एकअर्कामा सूत्रबद्ध जोडिएका हुँदैनन्। अब यो पार्टी सिद्धान्त र सूत्रले बाँधिएन।
मैले देखेको पढेको त कम्युनिस्टहरु पढ्छन् लेख्छन् र गम्भीर चिन्तन गर्छन् भन्ने थियो। तर यहाँ बसेर हेर्दा नेपालका माओवादीहरु न लेखपढ गर्छन् न चिन्तन। बेकारमा समयको अपव्यय मात्रै गरिरहेका छन्।
(लेखक संग्रौलासँगको कुराकानीमा आधारित)