अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीले ५ नयाँ खेल थप्ने निर्णय पारित गरेसँगै सन् २०२० मा हुने टोकियो ओलम्पिकमा ३३ खेल आयोजना हुने भएको छ।
जापानको टोकियोमा हुने ओलम्पिकका लागि आइओसीले कराँते, स्केटबोर्ड, स्पोर्ट्स क्लाइम्बिङ, सर्फिङ र बेसबल/सफ्टबल गरी ५ नयाँ खेल थप गरेको हो।
३१ औं संस्करणको गृष्मकालीन ओलम्पिक ब्राजिलको रियो दि जेनेरियोमा सुरु हुनुअघि आइओसीको १२९ औं बैठकले उक्त निर्णय गरेको हो।
ओलम्पिक अजेण्डा २०२० अन्तर्गत टोकियो २०२० अर्गनाइजिङ कमिटीले ५ नयाँ खेल थप्ने प्रस्ताव गरेको थियो।
नयाँ खेल थपिएसँगै त्यसमा १८ इभेन्ट र ४७४ खेलाडी समेत थपिने आइओसीले उल्लेख गरेको छ।
भोलिबाट सुरु हुने रियो २०१६ मा भने २८ खेल समावेश छन्।