काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र जनताको नाममा राष्ट्रपतिबाट सपथ लिएका छन्। प्रचण्डसँगै दुई उपप्रधानमन्त्री विमलेन्द्र निधि र कृष्णबहादुर महरा तथा तीन मन्त्री रमेश लेखक, गौरीशंकर चौधरी र दलजीत श्रीपाइलीले पनि राष्ट्रपतिबाट सपथ लिएका हुन्। सपथका सात दृश्य :
१. ईश्वरको शब्दमा 'पज' प्रचण्ड
राष्ट्रपति भवन शितल निवासमा भएको सपथ समारहोमा प्रचण्डले सपथ समारोहमा 'ईश्वर'को नाममा सपथ लिएनन्। राष्ट्रपतिले 'ईश्वर देश र जनताको नाममा' उल्लेख गर्दै उच्चारण गरे पनि प्रधानमन्त्री प्रचण्डले 'देश र जनताको' नाममा मात्र सपथ लिए। ईश्वर शब्द उच्चारण गर्ने बेला प्रचण्ड मौन बसेका थिए।
२. मलिन मुहार
सपथ ग्रहणका लागि राष्ट्रपति भवन पुगेका प्रचण्डले राष्ट्रपतिलाई केहीबेर पर्खनु परेको थियो। साथै अन्य पाहुनाले समेत राष्ट्रपति र उपराष्ट्रपतिलाई पर्खिएका थिए। मञ्चमा बसिरहेका सभामुख, सर्वोच्च अदालतका प्रधान न्यायाधीश, नवनियुक्त प्रधानमन्त्री प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीको अनुहार मलिन थियो। सपथ पछि पनि प्रचण्ड र ओलीको अनुहारमा चमक थिएन। कोट पाइन्टमा टोपी लगाएर पुगेका प्रचण्डले घाँटीमा टाइ भने बाँधेका थिएनन्। कोटको एउटा बटन खुल्लै राखेका उनले सपथ समारोह भरी निकै तौलिएर मात्र मुस्कुराए।
३. कुर्सी साटफेर
प्रधानमन्त्रीमा सपथ लिएसँग केपी शर्मा ओलीले नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई आफूले बसिरहेको कुर्सी छाड्दै बस्न इशारा गरेका थिए। प्रचण्डले ओलीले देखाएको कुर्सीमा बसेर सपथ पत्रमा हस्ताक्षर गरे।
४. उपप्रधानमन्त्रीको सपथमा ओलीको अलमल
निन्याउरो अनुहार लगाएर बसेका ओली उपप्रधानमन्त्री द्वय विमलेन्द्र निधि र कृष्णबहादुर महराको सपथमा सुरु गर्ने समयमा उठ्न ढिलाई गरे। राष्ट्रपति र अन्य सम्माननीयहरु उठिसकेपछि पनि प्रधानमन्त्री ओली भने कुर्सीमा बसिरहे। केहीबेरपछि सपथ सुरु हुनै लाग्दा भने उनी हतपत उठे।
५. सपथमा महराको हतारो
सपथ ग्रहणको क्रममा उपप्रधानमन्त्री कृष्णबहादुर महरा झुक्किए। उनले पदमा बहाल रहँदा भन्नुपर्नेमा बहाल शब्द छुटाए। पहिला पदमा रहँदा उच्चारण गरे अनि फेरि सम्झिँदै बहाल शब्द उच्चारण गरे। महरा झुक्किएपछि राष्ट्रपतिले सपथ पुस्तिकाबाट नजर हटाएर एक पटक महरातर्फ हेरिन्। अनि सपथ अगाडि बढाइन्।
६. राष्ट्रपतिले सम्झाइन् मन्त्रीहरुलाई
सपथ ग्रहण गराउने क्रममा तीन मन्त्रीमध्ये दुईका लागि मात्र माइकको व्यवस्था थियो। राष्ट्रपतिले सपथ सुरु गर्नु अघिकै आवाज माइकमा आइरहेको थियो। सोही आवाजलाइ सपथको सुरुवात ठान्दै मन्त्रीहरुले 'म' उच्चारण समेत गरे। तर राष्ट्रपतिले भनिन् – 'सुरु भएको छैन।' त्यसपछि मात्रै सपथ सुरुवात गरेकी थिइन्। रमेश लेखक, गौरीशंकर चौधरी र दलजित श्रीपाइलीले मन्त्री पदको सपथ लिएका छन्।
७. सभामुखसँग ह्यान्ड सेक, राष्ट्रपति र प्रधान न्यायाधीशलाई नमस्कार
सपथ पछिको परिचय कार्यक्रममा उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुसँग सभामुख ओनसरी घर्तीले हात मिलाइन्। तर राष्ट्रपति र प्रधान न्यायाधीशलाई भने उनीहरुले नमस्कार गरे। कुटनीतिक नियोगका प्रमुखहरुले भने नव नियुक्त प्रधानमन्त्रीलाइ बधाई दिने क्रममा राष्ट्रपतिसँग समेत हात मिलाएका थिए।
८. बधाई दिन चीन अगाडि
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सबैभन्दा पहिला बधाई दिन चिनियाँ राजदुत मञ्चमा उक्लिएका थिए। उनी फटाफट हिड्दै मञ्चमा पुगेका थिए। भारतीय राजदुत रणजीत राय भने अन्य केही राजदूतहरुको पछाडि परेका थिए। कुटनीतिक नियोगका प्रमुखहरुले बधाई दिएपछि अन्य उपस्थितले प्रधानमन्त्रीलाइ बधाई दिने कार्यक्रम थियो। सो क्रममा भने सबैभन्दा पहिला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की मञ्चमा पुगेका थिए। अग्लो कदमा लोकमानसिंह कार्की मुख्य सचिव र प्रधान सेनापति भन्दा पनि अघि अघि मञ्च तर्फ अगाडि बढेका थिए।
९. सिमसिम पानी
सपथ ग्रहण जारी रहँदा शितल निवासमा सिमसिम पानी परेको थियो। बधाई दिनेहरु छाता ओढेर मञ्चमा पुगेका थिए। समारोहमा नेपाली सेनाले सलामी दिएको थियो भने मंगलधुन बजाइएको थियो।
१०. ओली प्रचण्ड साउती
प्रधानमन्त्रीको सपथ लिएका प्रचण्डलाई मञ्चबाट झर्ने क्रममा केहीबेर रोकिएर निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले लामै समय हात मिलाएर बधाई दिए। उनले प्रचण्डको कानमा केही साउती समेत गर्न भ्याए। सभामुख ओनसरी घर्ती दुइको कुराकानी हुँदै गर्दा रोकिएकी थिइन्।