PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

किन प्रचण्ड आफूले आफैँलाई दिए बधाई?



पहिलोपोस्ट

किन प्रचण्ड आफूले आफैँलाई दिए बधाई?

काठमाडौं : प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफैँलाई माइक्रोब्लगिङ साइट ट्विटरबाट बधाई दिएको स्क्रिनसट र ट्विटर हाँसोको विषय बन्यो। स्वभाविक पनि थियो आफूले आफैँलाई बधाई दिनु सामान्य विषय थिएन।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गरेको ट्विटर ह्यान्डल @pm_Nepal प्रचण्ड प्रधानमन्त्री भएपछि उनलाई हस्तान्तरण भएको छ। र, हस्तान्तरण भएपछि थोरै होसियारी नपुर्‍याउँदा प्रचण्डले प्रचण्डलाई नै बधाई दिइरहेको संदेश फैलियो।
 

कसरी भयो यस्तो?

नयाँ प्रधानमन्त्री चयन भएपछि केपी शर्मा ओलीले चलाउँदै आएको ट्विटर ह्यान्डल @pm_Nepal प्रचण्डको टिमले पाउनुअघि नै प्रम केपी शर्मा ओलीले प्रचण्डलाई प्रधानमन्त्री निर्वाचित भएकोमा बधाई दिएका थिए। ह्यान्डलमा रहेको फोटो र नाम फेरिँदा ओलीले दिएको बधाई प्रचण्डले नै दिएको जस्तो हुन पुग्यो।

ध्यान दिएर हेर्नुस् यो ट्विट हिजो ५ बजेर ३० मिनेट जाँदा गरिएको छ। मतलब जाँदै गरेका प्रमले आउँदै गरेका प्रमलाई बधाई दिँदै गरेको ट्विट प्रचण्डले प्रचण्डलाई नै गरे झै देखिएको हो।
 
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने,'प्रधानमन्त्री कार्यालयको आइटी सेक्सनलाई ट्विटर अकाउन्टको ह्याण्डल र वेवसाइट हस्तान्तरण गरिसकेका छौं। हामीले पछि के होला भनेर सबै जिम्मा लगाएर नै निस्क्यौँ।'
 

कमजोरी कहाँ?

आफूले आफैँलाई बधाई दिएको देखेपछि सामाजिक सञ्जालमा प्रचण्डलाई 'उडाउने'हरुका लागि गतिलै मसला मिलिहाल्यो। त्यसैले उनको ट्विटलाई गाईजात्राकै रुपमा व्यङ्ग्य गरियो।

नयाँ नियुक्त प्रधानमन्त्रीले सुरुमै यस्तो व्यङ्ग्यको सिकार हुनुमा कमजोरी कसको?

यो ट्विटर ह्यान्डल सुशील कोइराला प्रधानमन्त्री बनेपछि सुरु भएको हो। उनलाई विस्थापित गरेर केपी ओली प्रधानमन्त्री भएपछि प्रधानमन्त्रीको ट्विटर अकाउन्ट स्वत: ओलीको टिमले सञ्चालन गर्‍यो। र, त्यही क्रमको निरन्तरताअनुसार प्रचण्डको टिमले अब यसको सञ्चालन गर्दैछ।

ट्विटर अकाउन्ट हस्तान्तरण स्वभाविक भए पनि केपी ओली प्रधानमन्त्री भएपछि सुशील कोइरालाले गरेका सबै ट्विटहरु डिलिट गरिए।

अन्य मुलुकमा हस्तान्तरण हुँदै जाने यस्ता अकाउन्टबाट गरिएका सार्वजनिक महत्वका संदेशहरु सबै अर्काइभ गर्ने परम्परा छ। तर, सामाजिक सञ्जाल सञ्चालनको सामान्य नीति समेत नभएका कारण सुशील कोइराला प्रधानमन्त्री हुँदा गरिएका ट्विटहरु महत्वपूर्ण भए पनि अहिले पाइँदैन। ओलीले गरेका १ सय ८२ ट्विटमात्र अहिले यसमा छन्। अब यसलाई सञ्चालन गर्नेले हटायो भने ओलीले गरेका महत्वपूर्ण ट्विट सुशील कोइरालाको ट्विट झै गायव हुनेछ।

प्रचण्डमा ट्विट ह्यान्डल हस्तान्तरण भएपछि ओलीले गरेका ट्विटलाई अर्काइभ नगर्दा प्रचण्ड हाँसोका पात्र बन्न पुगे। ओलीका ट्विटलाई व्यवस्थित रुपमा अर्काइभ नगर्ने हो भने प्रचण्डकै अनुहार र ट्विटर ह्यान्डलबाट कुनै दिन ओलीले गरेका कुनै ट्विट रिट्विट भएर आउन सक्छ। र, प्रचण्ड फेरि हाँसोका पात्र बन्न सक्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell