
रियो ओलम्पिक २०१६ अन्तर्गत भएको फुटबलमा आयोजक ब्राजिल दक्षिण अफ्रिकासँग बराबरीमा रोकिएको छ।
समूह ए अन्तर्गत बिहीबार मेन गारिन्चा स्टेडियममा भएको खेलमा ब्राजिल १० खेलाडीमा सीमित दक्षिण अफ्रिकासँग गोलरहित बराबरीमा रोकिएको हो।
५९ औं मिनेटमा मोथोवी एमभला रातो कार्ड खाँदै मैदान बाहिरिएपछि दक्षिण अफ्रिका १० खेलाडीमा झरेको थियो। तर कप्तान नेमार गाब्रिएल जेसस, गाब्रियल बार्सोसा जस्ता स्टार रहेको ब्राजिलको अग्रपंक्ति गोल गर्नबाट चुक्यो र बराबरीमै चित्त बुझाउनुपर्यो।
यस्तै समूह ए अन्तर्गतकै अर्को खेलमा इराक र डेनमार्कले पनि गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
अर्जेन्टिना पराजित
रियो २०१६ कै समूह डी अन्तर्गत भएको खेलमा अर्जेन्टिना पोर्चुगलसँग पराजित भएको छ। ओलम्पिक स्टेडियममा भएको खेलमा पोर्चुगलले अर्जेन्टिनालाई २-० ले पराजित गरेको हो। पोर्चुगलको जितमा पासिएन्सिया र पाइटले १-१ गोल गरे।समूह डी कै अर्को खेलमा होण्डुरसले अल्जेरियालोई ३-२ ले पराजित गरेको छ।
जर्मनी र मेक्सिको बराबरी
विश्व विजेता जर्मनको ओलम्पिक टीम र साबिक ओलम्पिक च्याम्पियन मेक्सिकोबीचको खेल बराबरीमा रोकियो। समूह सी अन्तर्गत फोनटे नोभा एरेनामा भएको खेलमा जर्मनी र मेक्सिकोले २-२ गोलको बराबरी खेलेका छन्। जर्मनीका लागि सर्जी गनाबरी र माथिएस जिन्टरले गोल गरे भने मेक्सिकोका ओरिव परेल्टा र रोडोल्फ पिजारोले गोल गरे।दुई ह्याट्रिक
समूह सी कै अर्को खेलमा दक्षिण कोरियाले फिजीलाई ८-० ले हरायो। सेउङ्वो रय्ले ह्याट्रिक गरे भने चाङहुन हुन्जुनले २-२ तथा हेउनमिनले १-१ गोल गरे।सेउङ्वो जारी ओलम्पिकमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन्।
यस्तै समूह बी मा ओगेनकारो एटेबोको ४ गोलको मद्दतमा नाइजेरियाले जापानलाई ५-४ गोल अन्तरले पराजित गरेको छ। समूह बी कै अर्को खेलमा स्वीडेन र कोलोम्बियाले २-२ गोलको बराबरी खेलेका छन्।
फुटबलतर्फ महिला र पुरुषका खेलहरु सुरु भइसके पनि ३१ औं गृष्मकालीन ओलम्पिक खेलकुद समारोहको उद्घाटन माराकाना रंगशालामा आज हुँदैछ।