PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

अघिल्लो सरकारको घोषणाअनुसार त्रिशूलीका तुइन विस्थापनको काम सुरु



रासस

अघिल्लो सरकारको घोषणाअनुसार त्रिशूलीका तुइन विस्थापनको काम सुरु

 
रत्ननगर (चितवन) : चितवनमा त्रिशूली नदीमाथिका जोखिमयुक्त तुइन विस्थापनको काम सुरु भएको छ।
 
केही ढिलाइ भए पनि यो वर्षदेखि तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माणको काम थालिएको चितवनका स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले बताए।
  
अघिल्लो सरकारका पालामा घोषणा गरिएको लोकप्रिय कार्यक्रममध्ये तुइन विस्थापनको काम एक वर्ष ढिला गरी सुरु भएको हो। जिल्ला प्राविधिक कार्यालय चितवनले तुइन हटाएर झोलुङ्गे पुल निर्माणको काम थालेको पोखरेलले जानकारी दिए।
 
अघिल्लो वर्ष बजेट नआएकाले काम सुरु नभएको तर यस वर्षको सुरुआतबाटै काम थालिएको जिल्ला प्राविधिक कार्यालय चितवनका प्रमुख सञ्जीव श्रेष्ठ बताउँछन्। उनका अनुसार चितवनबाट तनहुँ तथा गोरखा जोड्ने तीन वटा तुइन छन्। त्यसको विकल्पमा झोलुङ्गे पुल निर्माण गरिनेछ। छोटो दुरीमा रहेको एउटा पुल निर्माण गर्न उपभोक्ता समितिलाई जिम्मासमेत दिइसकिएको छ।
 
'अर्को पुलका लागि सर्भे र डिजाइन सकिएकाले टेन्डरको तयारी छ भने तेस्रो ठाउँ लामो भएकाले झोलुङ्गे पुल महाशाखाले सर्भे गरेर डिजाइनसमेत सकेको छ,'  श्रेष्ठले भने, 'आगामी दुई वर्षमा तीनै ठाउँका तुइन विस्थापित हुनेछन्।' चितवनको कविलास बगेन्डीमा तनहुँ जोड्ने १५० मिटर लामो तुइन छ।
 
यस्तै, कविलासकै सिमलतालबाट तनहुँ जोड्ने अर्को त्योभन्दा लामो तुइन छ । दारेचोक गाविसबाट गोरखा जोड्ने ९६ मिटरको अर्को तुइन पनि छ। कविलासको पुलको लागत रु ९९ लाखको छ भने दारेचोकको लागत रु २९ लाख। सिमलतालको पुल भने लामो हुने भएकाले केन्द्रबाटै बनाउन लागिएको हो।
 
यहाँका तुइनमा अहिले पनि जोखिम मोलेरै बालबालिका तथा स्थानीयवासी नदी तर्ने गरेका छन्।

फोटो : khabar.jp



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell