काठमाडौं :सपथ लिएको २४ घन्टा नबित्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय गठबन्धनका शीर्ष नेताहरुसँगको छलफललाई अघि बढाएका छन्।
मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा गठबन्धन सम्बद्ध दलका नेताहरुले प्रचण्डसँग तीन बुदेँ सहमतिको दुई बुँदा कहिले कार्यान्वयन हुन्छ भनेर जिज्ञासा राखेका थिए।
तीन बुँदे सहमतिमध्ये तेश्रो बुदाँमा मोर्चाले प्रधानमन्त्री निर्वाचनमा प्रचण्डलाइ भोट हाल्ने उल्लेख थियो। 'भोट हाल्ने बुँदा कार्यान्वयन भयो अब बाँकी बुदाँ कार्यान्वयन गर्ने काम सरकारको हो', भेटमा सहभागि फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले भने।
यादवका अनुसार बैठकमा प्रचण्डले के के बुदाँ तत्काल कार्यान्वयन गर्न सकिन्छ भनेर सोधेका थिए। संघीय गठबन्धनका नेताहरुले संविधान संशोधन सम्बन्धि विषय संसदको विषय भएको भन्दै मधेस आन्दोलनमा मृत्यु भएका परिवारलाई राहत छानविन आयोग गठन लगायतका विषय उठाएका थिए।
'हामीले यी सहमति कार्यान्वयनका लागि क्याबिनेटबाट चाँडो निर्णय होस् भनी भनेका छौं, फोरम गणतान्त्रिकका नेता राजकिशोर यादवले भने।
कांग्रेस-माओवादीसँग भएको आफूहरुसँगको सहमतिलाई कार्यान्वयन गर्न सरकारले देखाएको तत्परतालाई संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रशंसनीय भनेका छन्। 'प्रधानमन्त्रीले कार्यभार सम्हाल्ने बित्तिकै राजनीतिक समस्या समाधानका लागि जुन पहल लिनुभएको छ, यसलाई हामीले गुड गेस्चरका रुपमा लिएका छौं', उनले भने।
यादवले गठबधनले उठाउँदै आएका राजनीतिक मागहरु पनि चाँडो सम्बोधन हुने आफूहरुको विश्वास रहेको बताए। सरकारमा मधेस केन्द्रीत दलहरुको सहभागिताको विषयमा कुनै छलफल नभएको यादवले बताए।
फोटो : रासस