
विश्व खेलकुदको सबैभन्दा प्रतिष्ठित खेल उत्सव मानिने गृष्मकालीन ओलम्पिकको ३१ औं संस्करणको आज बाट सुरु हुँदैछ। दक्षिण अमेरिकी राष्ट्रमा पहिलो पटक हुन लागेको खेल मेलाको ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा भव्य उद्घाटन हुने बताइएको छ। विश्वका २०६ देशका करिब १० हजार २९३ खेलाडीले २८ खेलमा प्रतिस्पर्धा गर्नेछन्। ३०६ स्वर्ण, ३०६ रजत र ३५० भन्दा बढी कास्य पदकका लागि ३०६ स्पर्धा हुनेछन्।
बेलुका ८ बजे ओलम्पिक उद्घाटन हुने भए पनि विश्वभर भने फरक समय हुनेछ। ब्राजिली समयमा ओलम्पिक उद्घाटन समारोह शुक्रबार हो तर नेपालमा भने भोलि बिहान ४:४५ बजे मात्रै हुनेछ।
ओलम्पिक समारोहको उद्घाटन हुँदा ब्राजिलमै समेत तीन फरक समय हुनेछ। ब्राजिलको नोरोन्हामा बेलुका ९ बज्नेछ भने रियोमा ८ बज्नेछ। यस्तै मानाउसमा बेलुकाको ७ बज्नेछ। यस्तै पूर्वी देश फिजीमा भने ओलम्पिक उद्घाटन हुँदै गर्दा शनिबार ११ बजिसकेको हुनेछ।
के हुँदैछ उद्घाटनमा?
पहिलो ल्याटिन अमेरिकी महादेशमा हुन लागेको ओलम्पिक समारोहको उद्घाटन समारोह ब्राजिलको रियो दि जेनेरियोस्थि ऐतिहासिक माराकाना स्टेडियममा हुँदैछ।बेलुकी ८ बजे सुरु हुने उक्त समारोह विश्वभर करिब ३ मिलियनले हेर्ने अनुमान गरिएको छ। उद्य्घाटन समारोहमा ३५ हजार व्यक्तिको विभिन्न प्रस्तुति समावेश हुने बताइएको छ भने १२ साम्बा स्कुलको प्रस्तुति समेत रहनेछ।
४ घन्टासम्म चल्ने उक्त समारोहमा विभिन्न सेलेब्रिटी लगायतले इतिहास झल्काउन प्रस्तुति दिनेछन् भने डान्सिङ, लाइट्स, फाएरवर्क जस्ता गतिविधि पनि हुनेछ। ब्राजिलियन मोडेल जिसेले बुण्डचेन पनि उद्घाटन समारोहमा उपस्थित हुनेछिन्। यस्तै लेजेण्ड्री सिंगर एल्जा सार्स लगायत कारो कोन्का र १२ वर्षीय एमसी सोफीले समेत उद्घाटन समारोहमा प्रस्तुति दिनेछन्।
त्यसपछि ओलम्पिकमा सहभागी सबै देशले परेड गर्नेछन्। पोर्चुगिज अल्फाबेट अनुसार सुरुको ग्रिस हुनेछ, त्यसपछि अन्य देशहरु।
यसपटक अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले रिफ्युजी ओलम्पिक टीम र इन्डेपेन्डेन्स ओलम्पिक एथ्लेटलाई समेत समावेश गर्दैछ।
सिटी अफ गडका फिल्मका डाइरेक्टर फर्नान्डोले मेरेलेस रियो ओलम्पिक उद्घाटन समारोहको डिजाइन गरेका हुन्। उनीसँगै अनड्रुचा वासिङ्गटन र ड्यानिएला थोमस पनि क्रिएटिभ डाइरेक्टरको रुपमा रहेका छन्।