PahiloPost

Jun 18, 2024 | ५ असार २०८१

​३२ वर्ष माथिकाले नेविसंघमा राजनीति गर्न नपाउने, दुई वर्षमा अधिवेशन नभए समिति स्वत: खारेज



रमेश वाग्ले

​३२ वर्ष माथिकाले नेविसंघमा राजनीति गर्न नपाउने, दुई वर्षमा अधिवेशन नभए समिति स्वत: खारेज

काठमाडौं : नेपाल विद्यार्थी संघले ३२ वर्षे उमेर हद तेक्दै संगठनको विधान पारित गरेको छ।
 
संघले ११ औं महाधिवेशनदेखि अभ्यास गर्नेगरी समावेशी विधान तयार पार्न कार्यदल गठन गरेको हो। कार्यदलले तयार पारेको विधानको मस्यौदा कांग्रेस सभापतिले नेविसंघ अधिवेशनका लागि सहयोग तथा निर्देशन गर्न गठन गरेको निर्देशक समितिबाट पारित भएसँगै संशोधन भएको हो।

नेविसंघको प्रस्तावित विधान ११औं महाधिवेशनले पारित गरेपछि मात्र कार्यान्वयनमा आउने छ। बन्द सत्रबाट पारित विधानकै आधारमा आगामी ११औं महाधिवेशनको केन्द्रीय समितिको चुनाव हुनेछ।

'अब नेविसंघमा राजनीति गर्नका लागि ३२ वर्षभन्दा कम उमेरको हुनुपर्ने प्रावधानसहित विधान पारित गरेका छौं,' संघका प्रवक्ता युपी लामीछानेले भने, 'अब केन्द्रीय समिति पनि पार्टी वा अरु कुनै निकायले जोगाउन नसक्ने गरी विधानमै म्याद तोकिएको छ।' उनले केन्द्रीय महाधिवेशन भएको दुई वर्षमा महाधिवेशन गराउन नसकेमा तीन महिनासम्म त्यो समिति कायम रहने तर त्यस अवधिमा पनि अधिवेशन हुन नसके स्वत: खारेज हुने जानकारी दिए।

विधानको ३२ वर्षे मापदण्ड भने आगामी १२औं महाधिवेशनबाट मात्र लागू हुनेछ।

अन्य प्रावधान भने यही साउन २३ बाट काठमाडौंमा सुरु हुन लागेको आसन्न ११औं महाधिवेशनबाट नै लागू हुनेछ।
 
नेविसंघले पार्टीले समेत लागू गर्न नसकेको एक पद एक व्यक्तिको प्रावधान विधानमा ल्याएको छ। विधानको प्रावधानअनुसार संघको कुनै पनि निकायमा बसेको व्यक्तिले अर्को निकायमा वा केन्द्रीय समितिमा जिम्मेवारी लिन पाउँदैन। 'कुनै पनि निकायमा बसिसकेको व्यक्ति केन्द्रीय समितिमा उमेम्द्वारी दिनासाथ उसको अर्को पद स्वत: खारेज हुन्छ,' उनले भने, 'एउटै व्यक्तिले धेरै ठाउँमा जिम्मेवारी लिने तर त्यसअनुरुपको भूमिका निर्वाह नगर्ने प्रवृतिको अन्त्यका लागि विधानमा यो व्यवस्था गरिएको हो।'

संघलाई समावेशी बनाउने भन्दै प्रस्ताव गरिएको कार्यसमिति भने जम्बो आकारको छ।

अब १५१ सदस्यीय केन्द्रीय समिति हुनेछ। एक अध्यक्ष, सात प्रदेशबाट एक-एक जना उपाध्यक्ष, समावेशी चार र मनोनीत दुई गरी गरी १३ उपाध्यक्ष रहने व्यवस्था राखिएको छ। यस्तै, विधानमा दुई निर्वाचित महामन्त्री र एक मनोनीत गरि तीन महामन्त्री हुने प्रस्ताव गरिएको छ। यसैगरी सात प्रदेशबाट सात जना, उपत्यकाबाट एक जना, पिछडिएको क्षेत्रबाट एक जना र समावेशी कोटाबाट चार जना निर्वाचित हुनेछन् भने थप तीन जना मनोनीत गरी १६ जना सहमहामन्त्री रहने व्यवस्था नेविसंघले गरेको छ। विधानले एक जना निर्वाचित कोषाध्क्ष रहने पनि व्यवस्था गरेको छ।

संघको अधिवेशन गर्नका लागि सहयोग तथा निर्देशन गर्नेगरी कांग्रेस सभापति शेरबहादुर देउवाले साउन ९ गते केन्द्रीय सदस्य डा. प्रकाशशरण महतको संयोजकत्वमा पाँच सदस्यीय निर्देशक समिति गठन गरेका थिए। महतको समितिमा महतबाहेक सबै केन्द्रीय सदस्यहरु नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षहरु छन्। निर्देशक समितिमा प्रकाशशरण महत संयोजक छन् भने किशोरसिंह राठौर,गोविन्द भट्टराई, गुरुराज घिमिरे र प्रदीप पौडेल सदस्य छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell