
काठमाडौं : अमेरिकी सहर न्युयोर्कमा आयोजना हुँदै आएको कुटर फेसन विक पहिलो पटक नेपालमा आयोजना हुने भएको छ।
न्युयोर्कमा रहेको एलाइट फेसन हाउससँगको सहकार्यमा पहिलो पटक कुटर फेसन विक नेपालमा हुन लागेको हो।
'काठमाडौं पोस्ट प्रिजेन्ट्स कुटर फेसन नेपाल २०१६' नाम दिइएको उक्त फेसन शो आगामी साउन २९ गते होटल हायतमा हुनेछ। कुटर फेसन विक न्युयोर्क सिइओ आन्द्रेस अकुइनोले नेपालमा रहेको नयाँ प्रतिभाहरुको खोजी गर्न र उनीहरुलाई आफ्नो प्रतिभा देखाउने मौका दिन उक्त फेसन विक यसपटक नेपालमा आयोजना गरेको बताए। ग्लोबल सर्ट फिल्म अवार्ड्सका संस्थापक समेत रहेका अकुइनोसँगै न्युयोर्कबाट पनि अन्य प्रतिनिधि सहभागी हुँदैछन्।
अमेरिकासँगै विश्वका विभिन्न मुलुकका सुन्दरी, नेपालका पूर्व मिस नेपाल, मोडल लगायत कुटर फेसन विकको र्याम्पमा उत्रनेछन्। यसमा मिस होण्डुरस युनिभर्स बेलजिका सुवारेज, मिस पाराग्वे अर्थ सेण्डी सासारस, फिनल्याण्डका नेए म्याकलिन र न्युयोर्क रनवे मोडल तथा स्टाएलिस्ट कमेसिए म्याकेन्ना रहेका छन्।
त्यस्तै नेपालबाट पूर्व मिस नेपालद्वय मलिना जोशी र सृष्टि श्रेष्ठ, फर्स्ट फेस अफ पनाचे रनवे मोडल अन्जली लामा रहेका छन्। यस्तै किङ फिसर सुपर मोडल २०१५ मोडल आस्था पोखरेल, मिस नेपाल २०१५ को मिस ट्यालेन्ट पूजा श्रेष्ठ, नायक गौरव पहारी र टेक्नो आर्टिस्ट अनिश चन्द रहेका छन्। उनीहरुलाई र्याम्पमा हिँडाउने काम कोरियोग्राफर रचना गुरुङले गर्नेछिन्।
फेसन सो मा सविन राई, अभया एण्ड द स्टिम इन्जन्सको सांगीतिक प्रस्तुती समेत रहनेछ। उक्त फेसनको सो को आयोजना एभरेस्ट इभेन्ट एण्ड एक्जिभिसन प्रालीले गर्दैछ भने चिफ प्रोग्राम कोअर्डिनेटरको रुपमा स्रिजना पोखरेल रेहका छन्। यस्तै रुस्लान भोड्का फेसन सोको प्रमुख प्रायोजकको रुपमा रहेको छ।