PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

३५ वर्षका युवकको महत्वाकांक्षी योजना, २५ महिलासँग यसरी गरे विवाह



सविन ढकाल

३५ वर्षका युवकको महत्वाकांक्षी योजना, २५ महिलासँग यसरी गरे विवाह

काठमाडौं : चितवन स्थायी घर भएका रमेश राउत (नाम परिवर्तन) ले सानै उमेरमा आमाबुवा गुमाउनुपर्‍यो। अभिभावकविहीन उनका लागि त्यसपछिका दिन कम संघर्षपूर्ण रहेनन्।
 
कहाँ खाने, कता बस्ने र के पढ्ने? यही चिन्ताले उनको दैनिकी अव्यवस्थित बन्दै गयो। पढेमात्रै जीवन सुखी हुन्छ भन्ने छाप सानैदेखि परेको थियो उनमा। त्यसैले पनि पढाइलाई जसोतसो अगाडि बढाइरहे।
 
नेपाली समाजमा हुर्किएका उनले उखान सुनेका थिए- 'जसको कोही हुँदैन, उसको भगवान् हुन्छ।' स्कुल, कलेजको पढाइ पूरा गरेलगत्तै धेरैको सपनाको सहर भनिने क्यानडा जाने सौभाग्य मिल्यो।
 
परिवारमा अन्य सदस्य समेत नरहेका उनी आफूलाई 'अनाथ' भन्थे। क्यानडाको भौतिक सुखसुविधामा पुगिसकेपछि उनको परिचय बदलिँदै गयो। उनमा महत्वाकांक्षी योजना झाँगिदै गयो।
 
क्यानडा बसाइको केही वर्षपछि उनी बिहे गर्ने योजनासहित नेपाल फर्किए। फेसबुकबाट नै चिनजान भएकी झापाकी पूर्णिमा (नाम परिवर्तन) सँग उनले बिहेको कुरा गरे। केटी पक्षका परिवारले पनि रमेशबारे बुझेपछि सहमति जनाए। व्यवस्थापन विषयमा स्नातकोत्तर सकेकी २५ वर्षकी पूर्णिमा र ३५ वर्षे उनको बिहेको मिति तय भयो।
 
क्यानडामा राम्रो कमाइ गरेर आएका उनले पूर्णिमाकै लागि १० तोलाभन्दा बढी सुनका गहना बनाएका थिए।
 
रमेशका साथी भने बिहेको अघिल्लो दिन नै काठमाडौंबाट प्लेन चढेर बिर्तामोड पुगेका थिए। झापाकै महँगो होटलमा बिहे सम्पन्न भयो।
 
बिहेपछि यो नयाँ जोडीले झापा, इलाम, दार्जिलिङका रमणीय स्थानमा घुमघाम गर्दै हनिमुन मनायो।
 
फेसबुकको रिलेसनसिप भन्ने बटनमा 'सिंगल' राखेकी पूर्णिमाले केही दिनमै 'इन अ रिलेसनसिप' बनाइन्। दुवैको हंसमुख चेहराको फोटो अपलोड गरिन्। घुमघाममा बिताएका रमाइला दृश्यले उनको फेसबुक वाल भरिँदै गयो।
 
बाबुआमा गुमाएको एउटा ठिटोले प्रगति गरेर बिहे समेत गरेकोमा उनका साथीहरु र आफन्त खुसी थिए। फेसबुकमा समेत 'उदाहरणीय जोडी' भन्दै उनीहरुले कमेन्ट लेख्न थाले।
 
क्यानडाको बिदा सकिँदै गइरहेको थियो। दुवै उतै जाने तयारीमा थिए। अचानक एक दिन फेसबुकमा यस्तो कमेन्ट आयो, जसले पूर्णिमा र रमेशमात्र होइन चिनजानका अरुलाई पनि तरंगित बनाइदियो।
 
'रमेश कहाँ अनाथ हो र, न त अविवाहित नै…' एक महिलाले यस्तै व्यहोराको कमेन्ट लेखिन्, जहाँ रमेशबारे इतिवृत्त नै पोस्ट गरिएको थियो।
 
यो थाहा पाउनेबित्तिकै पूर्णिमाका परिवार झस्किए र तत्काल प्रहरीलाई खबर गरे। पक्राउपछि प्रहरीले रमेशबारे अनुसन्धान थाल्यो। अनुसन्धानको क्रममा पत्ता लायो- रमेशले बनाएका सबै योजना सही थिएनन्।
 
माथि गरिएको क्यानडाको सम्पूर्ण वर्णन झुटो रहेछ।
 
अनुसन्धानबाट थप खुल्यो- उनको त चितवनमा श्रीमती र दुई छोराछोरी रहेछन्। केही वर्षका लागि वैदेशिक रोजगारीमा गएका रहेछन् तर क्यानडा होइन। बिहेमा झापा गएका जन्ती ट्याक्सी चालक रहेछन्। उनलाई रमेशले नै प्लेन टिकट, खानेबस्ने र नगद पाँच हजार समेत दिएका रहेछन्।
 

फन्दामा शिक्षित महिला

रमेशले झुटो बिहे र ठगीमा अधिकांश शिक्षित र सम्पन्न महिला नै पर्ने गरेका छन्। प्रायजसो स्नातक उत्तीर्ण, सञ्चारकर्मी, नर्स, बैंकरहरु।
 
पोखराकी एक सञ्चारकर्मीलाई समेत रमेशले आफ्नो ठगी जालोमा हाल्न भ्याएका थिए। यी दुईबीच पनि बिहे भयो र केही समय सँगै बिताए। उनीहरु पोखरामै थिए। गएको मातातीर्थ औंसीका दिन 'काठमाडौं गएर श्राद्ध गर्छु भन्दै' उनी काठमाडौं आए। त्यस बेला सञ्चारकर्मी महिलाले उनलाई बैंकबाट झिकेर पाँच लाख दिएकी थिइन्।
 
पूर्णिमासँग बिहे गर्नुअघि उनले काठमाडौंकी अर्की सम्पन्न महिलासँग फकाएर २० लाख रुपैयाँ समेत लिएका रहेछन्। उनलाई पनि बिहे गर्ने र क्यानडा लैजाने भनेर विश्वास दिलाएपछि उनले जग्गा बेचेरै सो रकम दिएकी थिइन्।
 

सबैले उजुरी दिन मानेनन्

यसरी केही वर्षदेखि रमेशले आफू क्यानडाको पिआर होल्डर भन्दै २५ जना भन्दा बढी महिलासँग झुटो बिहे गरेको प्रहरीले पत्ता लगाएको छ।
 
अहिलेसम्म तीन जना महिलाले मात्र बिहे गरेर आफूसित भएको सम्पति ठगेको भन्दै उजुरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी प्रधुम्न कार्की बताउँछन्।
 
ठगिने केही महिला र अन्य 'श्रीमती'ले प्रहरीलाई समस्याबारे जानकारी गराए सबैले उजुरी दिन नमानेको उनले बताए।

(घटनासँग मिल्दो यो प्रतीकात्मक फोटो shareyouressays.com बाट लिइएको हो)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell