
काठमाडौं : आफ्नो पतिको सफलतामा पत्नी कति खुसी हुन्छिन्? अझ मुलुककै कार्यकारी पदमा पुग्दा उनमा खुसीको मात्र कति बढ्ला?
तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालका विषयमा यो लागू हुन्न। शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको चाबी हातमा राखिदिँदा समेत उनी हाँस्नु त परै जाओस् मुस्कुराउन समेत सकिनन्।
शुक्रबार क्रिकेट टोलीलाई विदाइ गर्ने समारोहमा खिचिएको सामूहिक फोटोमा पनि उनको अनुहार उस्तै छ।
के प्रधानमन्त्री पत्नी सीता कहिल्यै हाँस्दिनन् त?
नयाँ पत्रिकालाई दिएको एक अन्तर्वार्तामा उनले भनेकी छिन्, 'म त्यति हाँस्ने, हाहा–हुहु गर्दिनँ। म यो कुरा (सार्वजनिक समारोहमा नहाँसेको) स्वीकार्छु। तर, घरमा त हाँसिहाल्छु नि। हाँस्ने कुरामा हाँसिन्छ, सिरियस हुने कुरामा सिरियस भइन्छ।'
प्रश्न उठ्छ, के त्यसो भए प्रधानमन्त्री निवासको चाबी हातमा पार्ने समारोह उनकै शब्दमा हाँस्ने कुरामा पर्दैन?
प्रधानमन्त्री निवासको चाबी हस्तान्तरण मात्र होइन आफ्ना पति प्रधानमन्त्री नियुक्त भएलगत्तै चिनियाँ राजदूतले निवासमै पुगेर बधाई दिँदै गर्दाको फोटोमा समेत उनको मुस्कान गायब छ।
प्रचण्ड पुत्र प्रकाशले परिवारकै फोटो फेसबुकमा राखेका छन् जसमा सीता हाँस्नु त परै जाओस्, झनक्कै रिसाए जस्तो पो देखिन्छिन्।
राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री प्रचण्डले मुलुकका सबै सम्माननीयहरुसँग आफ्नो परिवारको फोटो खिचाएका छन् जसमा पनि सीताको अनुहारमा मुस्कान छैन। अन्य फोटोहरुमा भन्दा केही फरक भने उनी देखिएकी छिन्।
प्रचण्ड सपथपछि कीर्तिपुरस्थित सहिद पुष्पलालको शालिकमा माल्यार्पणका लागि पुगे। लगत्तै पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँगै सामूहिक फोटो खिचे। त्यहाँ पनि सीताको मुहारको चमक गायब छ।
त्यसो त प्रकाशले फेसबुकमा राखेका आमा सहितका पुराना फोटोमा छोराछोरी मुस्काएको देखिन्छ। तर आमा सीताको अनुहारको भावभंगीमा उस्तै छ।
धेरै वर्षसम्म प्रचण्ड परिवारसँग निकट सम्बन्ध रहेकी हिसिला यमीले कान्तिपुर दैनिकमा छापिएको एउटा लेखमा सीताबारे टिप्पणी गर्दै भनेकी छिन्, 'उहाँ (प्रचण्ड) को श्रीमती पढ्न नपाएकी सामान्य गृहिणी हुनुहुन्थ्यो। उहाँ कपडा धुन अति रुचाउनु हुन्थ्यो।'
पत्रकार नेत्र पन्थीले आफ्नो पुस्तक 'डिभोर्स'मा प्रचण्डका भेटघाटहरुमा छेउमै बसेर चाख दिएर सुने पनि सीता प्रतिक्रियाविहीन रहने गरेको उल्लेख गरेका छन्।
त्यसो त उनको नाम गुगलमा सर्च गर्दा समेत उनको हाँस्दै गरेको अथवा खुसी भएको फोटो भेटिन्न। यस्तोमा प्रश्न उठ्छ - के सीता दाहाल कहिल्यै हाँस्दिनन्?
हेर्नुस् सीता दाहालका थप फोटा -