PahiloPost

Nov 27, 2024 | १२ मंसिर २०८१

कान्तिपुर गाथा : फर्कियो चार्ली कतारतिरै



किशोर नेपाल

कनिकाले जतिसुकै अनुनय गरे पनि चार्ली भुर्र उड्यो कतारतिर। बाबु–आमाले लाख सम्झाए। तर, उ भने काम गरेर आफनो जीवन आफ्नै बाहुबलमा बाँच्न चाहन्थ्यो। स्वतन्त्र भएर आफनै वुतामा उभिनुको मजा नै अर्कै हुन्छ। त्यसो त, बाबु–आमाको सम्पत्ति नभएको होइन। मनग्गे पुग्छ चार्लीलाई। पुर्ख्यौली सम्पत्तिमा मस्ती मार्नुमा त्यति आनन्द छैन जति आफनो मेहनतले कमाएको पैसा खर्च गर्नुमा छ। त्यस्तो आनन्द नै बेग्लै हुन्छ। स्वतन्त्रता भावुकता मात्रै होइन। व्यवहारमा नै मानिस स्वतन्त्र नभएसम्म त्यस्तो स्वतन्त्रताको माने छैन। चार्लीले यति कुरा बुझेको छ। उसलाई थाहा छ, हुर्किएको छोरोले कपाल कन्याउँदै बाबुसँग पकेट खर्च माग्नु कति खतरनाक हुन्छ। पैसासँगै बाबुले दिने अर्ति–उपदेश सँधै रमाइलो हुँदैन। हरेक वीक–एण्डमा आमासँग लुटपुटिएर माँगेको पैसाले वीक–एण्डको आनन्द दिँदैन।

चार्ली बिमान बसेर बाबुका बारेमा सोच्छ। कता कता उसलाई लाग्दछ उसका बाबुले अब दुई वर्षभन्दा बढी जीवन धान्न सक्दैनन् होला। यो सोचाइले नै उसलाई कहाली लाग्दछ। किन त्यति कमजोर देखिए उसका बाबु ? कतै उनलाई ठूलै रोग त लागेको होइन ? उ आफै आफ्नो चित्त बुझाउँछ। त्यसो त होइन होला। आमालाई केही न केही त थाहा हुनुपर्ने हो। एउटै छोरो भएकाले मात्रै बाबु–आमाले उसलाई रोक्न खोजेका त होइनन् होला। त्यसपछि उ कनिकालाई सम्झिन्छ। त्यो केटीलाई उसले फसाउन खोजेको होइन। साँच्चै मायाँ बसेको छ उसको कनिकासँग। त्यत्रो विश्वासका साथ आफ्नो शरीर सुम्पिने केटीको मायाँ नगरेर उ के गरोस्। तर, मायाँ भनेको चाट्नु र लुटपुटिनु मात्र पनि त होइन। मायाँ जीवनको उद्देश्य हो। एउटी मायालु, सुन्दर र सुखी परिवार। कनिकाप्रति चार्लीको भरोसा बढेको छ यसपटक। त्यो केटीले पक्कै पनि दुई वर्ष पर्खिन्छे मलाई। चार्ली रमाउँछ।
 
विदेश फर्किन लागेको चार्लीसँग भेट्न सक्दिन कनिका। मुटुमा गाँठो नै परेर आउँछ। उसले चार्लीको मोबाइलको क्यालेण्डरबाट उ फर्किने दिन थाहा पाएकी थिइ। उसले चार्लीसँग केही सोधिन। उसलाई थाह थियो, चार्ली केही नबताइ लुसुक्क हिँड्छ। उ पनि फेस गर्न सक्दैन कनिकालाई। चार्लीले छोड्दैन भन्नेमा कनिकालाई विश्वास नभएको होइन। तर, समयको दूरीसँग सम्झौता गर्नु कठिन हुन्छ उसका लागि। यता दुई साता होइन, दुई दिन बिताउन त गाह्रो हुन्छ। दुई वर्ष त धेरै लामो समय भइहाल्यो नि।
 
चार्ली जतिबेला दोहा विमानस्थलमा उत्रिँदै थियो त्यतिबेला कनिका कोठामा धुम्धुम्ती बसेर सिनेमा हेर्ने प्रयास गर्दैथिइ। उसले हिन्दीका आधा दर्जन र अंग्रेजीका आधा दर्जन सिनेमा हेर्ने प्रयत्न गरी। मन कुनैमा जमेन। उ दुःखान्त सिनेमामा रमाउन सक्दिनथी। हँसाउने सिनेमामा पनि मन बसेन। एउटा छोटो सिनेमा हेरी - स्मूदी। त्यो स्मूदी र आइसक्रिममा रमाउने केटाकेटीको सिनेमा थियो। उ आफैसँग हाँसी र भनी, 'आइएम टू ओल्ड टू वाच दिज किड्डी।' उसले आफ्नो छातीका उभारतिर हेरी। चार्लीसँग अल्लादीनको कोठामा रमाएको रात सम्झिइ। साँच्ची, यो मायाँसँगै धेरै कुरा प्याकेजमा नै आउने। अँगालोमा रमाउनु पर्ने, कता कता शरीरका सबै अवयवमा किस खान मन लाग्ने, शरीर जुनसुकै बेला उसँग टाँसिनपर्ने, के के हो के के। यी सबै शारीरिक चपलता नहुने भए पर्खिनु मात्रै त के थियो र ? उ चार्लीलाई दुई होइन, चार वर्ष पर्खिन्थी। कनिकाले सोची, शरीरमा अभिव्यक्त नहुने प्रेम त के प्रेम भो र ? त्यो त पूरै धर्म भइहाल्यो। आकाशको तारा टिपेर ल्याउने जस्तो वित्पाते कुरा।
 
कनिकाको मनमा नेक कुरा खेलिरहेका बेला उसको फोनमा मेसेन्जरको टोन बज्यो। चार्ली भिडियो कलमा मुस्कुराइरहेको थियो।
 
कनिकाले रिसाएको अभिनय गरी, ‘जानेबेलामा बाई पनि नभन्ने, बोल्दिन।’
 
चार्लीले भन्यो, 'बोल्छ्यौ क्या बोल्छ्यौ। तिमी रिसाएको र नाटक गरेको म बुझिहाल्छु।’
 
कनिका हाँसी, ‘बोल्नै पर्‍यो नि। अब दुई वर्ष यसरी नै कटाउनुपर्ने होला। होइन?’
 
चार्लीले हाँस्दै जवाफ दियो, ‘कहाँ दुई वर्ष। तीन महिनापछि त फेरि आइहाल्छु नि। अल्लादीनको रात सम्झियो कि फर्किन मन लागिहाल्छ।’
 
कनिकाले केही बोल्न नपाउँदै चार्लीले भन्यो, ‘कष्टमर आयो। वील कल यू आफ्टर सम टाइम।’
 
कनिका मोबाइलको स्क्रीन नियाल्न थाली, ‘हाउ स्वीट।’

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको कान्तिपुर गाथा तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)
 
यो सिरिजका अन्य गाथा-
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell