
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकाललाई प्रभावकारी बनाउन अपवाद बाहेकका उद्घाटन कार्यक्रम र रिबन काट्ने काममा नअल्झने बताएका छन्।
शनिबार वनस्थलीमा आयोजित गोरखा–काठमाडौं जनसम्पर्क मञ्च एकताको पाँचौं भेलालाई सम्बोधन गर्दै उनले कम प्राथमिकताका काममा नजाने बताएका हुन्।
'उद्घाटन र रिबन काट्ने कार्यक्रममा बढी हिँडियो भने जनताको अपेक्षा र राष्ट्रको आवश्यकता पूरा नहुने हो कि भनेर म डराइरहेको छु,' उनले भने, 'कुरा कम र काम बढी गर्ने पक्षमा छु म।'
‘परिणाममूखी काम हुनुपर्छ भन्नेमा छु। यो कार्यक्रम प्रधानमन्त्री हुनुपूर्व नै तय भएकाले म आएँ,' उनको भनाइ थियो, 'अब अपवाद बाहेक उद्घाटन कार्यक्रम र रिबन काट्ने काममा अल्झने छैन।’
भेलामा प्रधानमन्त्री प्रचण्डले १० माओवादीको एकतापछि नेकपा माओवादी केन्द्र ठूलो दल बनेको दाबी गरे। ‘संसदमा हामी अहिले पनि तेस्रो दलकै रुपमा उपस्थित छौं तर १० माओवादीको एकतापछि हामी ठूलो दल बनेका छौं,' उनले भने, 'एकतालाई जनतासम्म पुर्याएर जनआकांक्षा पूरा गर्नतिर लाग्नु अबको प्राथमिकता हो।'
आगामी २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रदेश र सङ्घीय संसद्को निर्वाचन गर्न नसके देशमा ठूलो राजनीतिक र संवैधानिक दुर्घटनामा पर्नसक्ने खतरा समेत उनले औंल्याए।
संविधानको परिमार्जन सहित कार्यान्वयन, भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण, राहत, आर्थिक समृद्धि र जनआकांक्षाको परिपूर्ति सरकारको मुख्य कार्यभार रहेको उनको भनाइ छ। 'चुनौतीका बीच पनि होसियारीपूर्वक परिणाम निकाल्न म निरन्तर प्रयासमा हुनेछु,' उनले भने।
भारत र चीनसँगको सम्बन्ध सन्तुलित ढङ्गबाट नयाँ उचाइमा पुर्याउने अठोट राखेको भन्दै उनले सन्तुलित रुपमा सम्बन्ध अघि बढाउन चुनौती पनि रहेको बताए। फोटो : रासस