
काठमाडौँ : ठमेलको नरसिंह चोकनजिकैको माइहोम भवनको चौथो तल्लामा लागेको आगो आज बिहान करिब ९ बजे लागेको आगो नियन्त्रणमा आएको छ। दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा करिब आधा घण्टापछि आगो नियन्त्रणमा लिइएको जुद्ध वारुण यन्त्रका प्रमुख किशोर भट्टराईले पहिलोपोस्टलाई जानकारी दिएका छन्।
जुद्ध वारुण यन्त्रको तीन, नेपाली सेनाको एकलगायत पाँच वटा दमकलले आगो नियन्त्रणमा लिएका थिए। चौथो तल्लाका केही पसलमा लागेको आगोका कारण पसलमा भएका लुगाहरु खरानी भएका छन्।
आगलागीबाट भएको क्षतिको विवरण भने आइसकेको छैन। आगलागीबाट मानवीय क्षति नभएको नेपाल प्रहरीले जानकारी दिएको छ।
विद्युत सर्टसर्किटका कारण आगो लागेको हुनसक्ने अनुमान गरिएको छ।