PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

सोसाइटी अफ अमेरिकाको अध्यक्षमा थोकरको उम्मेदवारी



पहिलोपोस्ट

सोसाइटी अफ अमेरिकाको अध्यक्षमा थोकरको उम्मेदवारी

  • बिष्णु हरि घिमिरे -
कराते प्रशिक्षक शान्तबाबु थोकरले तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। सोसाइटीको निर्वाचन अगस्ट २८ तारिकमा न्युयोर्कमा हुँदैछ। न्युयोर्कको ज्याक्सन हाइटमा शनिबार पत्रकार सम्मेलन मार्फत् थोकरले उमेदवारी घोषणा गरेका हुन्।
 
“समाज विकासमा मैले पुर्‍याएको आफ्नो दशकौंको अनुभवलाई तामाङ सोसाइटी अफ अमेरिकाको आगामी अधिवेशनदेखि नेतृत्व लिँदै समग्र तामाङहरुको बृहत्तर हितको निम्ति सारथीको रुपमा सामाजिक जिम्मेवारी लिने आज म घोषणा गर्दछु,” सोसाइटीका संस्थापक, वर्तमान र दुई पूर्व अध्यक्ष उपस्थित पत्रकार सम्मेलनमा थोकरले उमेदवारी घोषणा गरेका हुन्।
 
सन् २००८ देखि २०१० सम्म सोसाइटीमा महासचिव जिम्मेवारी निभाएका थोकरले आफू  सर्वसम्वत रुपमा नेतृत्वमा चयन हुने आशा राखेका छन्।  “सोसाइटीको अहिले सम्मको संस्कारमा नेतृत्व चयन सर्वसम्वत हुँदै आएको छ, मलाई आशा छ आठौं अधिवेशनले पनि त्यो परम्परालाई  निरन्तरता दिने छ।”

सन् २००७ देखि न्युयोर्कमा बसोबास गर्दै आएका शान्त थोकर अमेरिकी कराँते महासंघबाट दोहोरो ए लाइसेन्स प्राप्त कराँते प्रशिक्षक हुन्। न्युयोर्कमा कराँते स्कूल सञ्चालन गर्ने अहिलेसम्म उनी एक्लो नेपाली पनि हुन्।
 
पत्रकार सम्मेलनमा सोसाइटीका पूर्व अध्यक्ष भरत लामाले थोकरको उमेद्वारीमा बधाई तथा शुभ कामना दिए। “यो हाम्रो घर हो, अमेरिकामा तामाङहरुको जनसंख्या दिनदिन बढ्दै आएको छ, जुनसुकै तामाङले पनि यो संस्थाको नेतृत्व लिन सक्छ, तर सक्षम मान्छे आउनुपर्छ, कसैले पनि व्यक्तिगत इगो लिनु हुँदैन।”
 
सोसाइटीका सल्लाहकार बंशलाल मोक्तानले निर्वाचनका नाममा संस्थामा मनमुटाव ल्याउन नहुनेमा जोड दिए। “सबै बस्दा यो घर सुरक्षित छ भन्ने महशुश सबैमा हुनु पर्दछ, चुनावका विभिन्न विधि हुन्छ तर सोसाइटीमा अहिलेसम्म सर्वसम्वत रुपमा नेतृत्व चयन गर्ने परम्परा छ, अब पनि त्यो परम्परा पनि कामय राख्नु पर्दछ।”

यस्तै संस्थाका संस्थापक अध्यक्ष सुभाष लामाले सोसाइटीको निर्वाचनमा कसैलाई बोकेर नहिड्ने तर सक्षम व्यक्ति नेतृत्वमा आउन पर्छ भन्नेमा आफु रहेको बताए। “नेतृत्वले सबैलाई समेट्ने क्षमता राख्नुपख्नु पर्छ, शान्तजी आफैँ पनि काम गर्छु भनेर आउनुभएको छ म शुभ कामना दिन चाहान्छु।”
 
सोसाइटीका पूर्व अध्यक्ष राम तामाङले एकाध वर्ष अगाडिसम्म पदमा बस्ने मान्छे खोज्दै हिड्नु पर्ने संस्थामा अहिले एक महिना अगाडि नै उमेदवारी घोषणा हुनु भनेको संस्थाको लोकप्रियता बढ्नु हो भन्दै थोकरलाई शुभकामना दिए।

सोसाइटीका अध्यक्ष सुर्य बहादुर तामाङ संस्थागत विकास गर्ने व्यक्ति नेतृत्वमा आउनु पर्नेमा जोड दिए। “मैले कसैलाइ उमेदबार होउ या नहोउ भनेर भन्न मिल्दैन्, संस्था पछिपछि व्यक्ति अघिअघि नहोस् भन्ने मेरो चाहाना हो, अहिले नै चुनावको चर्चा गर्दा डम्फु साँझलाई असर नपरोस् भन्ने हो, तपाईँहरु जो कोही पनि अध्यक्षमा आउन सक्नु हुन्छ, व्यक्ति आउने जाने हुन्छ तर संस्था सदैव रहन्छ, संस्थालाई बदनामी गराउन हुँदैन।”
 

अधिवेशन मिति सर्न सक्ने

यसैबीच अगस्ट २८ लाई तोकिएको तामाङ सोसाइटी अफ अमेरिकाको अधिवेशन मिति सर्ने भएको छ। सोही दिन गैर आवासीय नेपाली संघ एनआरएनको विश्व सम्मेलन अमेरिकाकै न्यु जर्सीमा हुँदै छ। पत्रकार सम्मेलनमा सोसाइटीका अध्यक्ष सुर्य तामाङले एनआरएनको कार्यक्रम एकै दिनमा पर्ने भएकाले छिट्टै नै कार्यसमितिको बैठक बसी नयाँ मिति तय गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell