
नाङ्गो खुट्टा हिड्नु अस्वभाविक हो अहिले। अझ नाङ्गो खुट्टा दौडनु झनै गाह्रो विषय। म्याराथन दौडने त्यो पनि खाली खुट्टा कल्पनाभन्दा बाहिरको विषय बनिसक्यो। म्याराथन ४२ दशमलव १९५ किलोमिटरको दौड हो जुन चानचुने मानिसले त पूरा पनि गर्न सक्दैनन्।
तर, विश्वमा त्यस्ता खेलाडी पनि जन्मे जसले ओलम्पिकको म्याराथनमा जुत्ता नलगाई दौडेर स्वर्ण पदक जिते।
हो, सन् १९६० मा रोममा भएको ओलम्पिकमा इथिओपियाका अबेबे बिकिलाले खाली खुट्टा दौडेर म्याराथनमा स्वर्ण पदक जिते। उनी इस्ट अफ्रिकाबाट ओलम्पिकमा पदक जित्ने पहिलो खेलाडी समेत बने।
त्यसको चार वर्षपछि अबेबे जापानको टोकियोमा भएको ओलम्पिकमा म्याराथनतर्फ आफ्नो स्वर्ण रक्षा गर्न सफल भएका थिए। तर टोकियो ओलम्पिकमा भने उनले जुत्ता लगाएर दौडेका थिए।
सन् १९३० मा लस एन्जलसमा ओलम्पिक म्याराथन भएकै दिन इथिओपियनमा जन्मेका अबेबेले २८ वर्षपछि म्याराथनमा भाग लिए र स्वर्ण पदक नै जिते।
१९६० मा रोम जाने इथिओपियन टोलीमा सुरुमा उनको नाम समावेश थिएन। वमी बिराटु अन्तिम समयमा आएर सिकिस्त बिरामी भएपछि प्रशिक्षक ओन्नी निस्कानेनले अबेबे बिकिलालाई रोम ओलम्पिक लैजाने निर्णय गरेका थिए।
१९६० को ओलम्पिकमा जुत्ता स्पोन्सर कम्पनी अडिडास थियो। अबेबेसँग जुत्ता थिएन। उनी रोममा बाँकी रहेका केही जोर जुत्ता ट्राई गर्न गए तर उनलाई कुनै पनि ठिक भएन र उनले प्रयोग गरेनन्।
म्याराथन सुरु हुनु केही घण्टाअघि मात्र उनले खाली खुट्टैले दौडने निर्णय गरे जसरी उनले ट्रेनिङ गरेका थिए।
दौड सुरु हुनु अघि अबेबेलाई प्रशिक्षण निस्कानेनले उनको मुख्य प्रतिद्वन्दी रादी बेन अब्देसेलेमको बारेमा सजग गराएका थिए। मोरोक्कोबाट आएका रादीले २६ नम्बर लगाउने सम्भावना थियो।
तर रादीले २६ नम्बरको सट्टा १८५ नम्बर लगाएर दौडने भए।
क्यापिटोलिन हिलबाट दिउँसो म्यारथन सुरु भयो, जुन कोलेसेउमको बाहिर आर्च अफ कन्सटान्टाइनमा पुगेर अन्त्य हुन्थ्यो।
दौड अवधिभर अबेबेले धेरै खेलाडीलाई पछि पारे तर रादीको २६ नम्बरलाई खोजिरहे। तर रादीले १८५ नम्बर लगाएर दौडेको बिकिलालाई थाहा थिएन। अबेबेलाई अर्को कुरा पनि थाहा थिएन कि रादी उनकै पछि दौडिरहेका छन्। अन्तिम ५ सय मिटरसम्म उनीहरु सँगै थिए। तर अन्तिम लाइनमा अबेबेले आफ्नो गति बढाए र २ घण्टा १५ मिनेट १६.२ सेकेण्डको कीर्तिमानी समयमा म्याराथन पूरा गर्दै स्वर्ण जिते। अबेबेभन्दा २५ सेकेण्डले मात्र पछि परेको रादी दोस्रो भए। दौड सकिएपछि अबेबेलाई किन खाली खुट्टा दौडिएको भनेर सोधिएको थियो। जवाफमा उनले यसो भनेका थिए, 'म पूरा विश्वलाई जनाउन चाहन्छु कि मेरो देश इथिओपिया जहिले पनि दृढ संकल्प र पराक्रमले विजेता बन्छ।'
त्यसको चार वर्षपछि पनि उनले टोकियो ओलम्पिकमा म्याराथनमा स्वर्ण जिते। उनले आफ्नै समयमा सुधार गर्दै २ घण्टा १२ मिनेट ११.२ सेकेण्डको नयाँ कीर्तिमान कायम गरेका थिए।
ओलम्पिक इतिहासमा म्याराथनतर्फ लगातार दुई स्वर्ण जित्ने अबेबे पहिलो खेलाडी समेत हुन्।
ओलम्पिकमा म्यराथनतर्फ स्वर्ण जितेका अबेबेको सम्मानमा इथिओपियाको राजधानी आदिस अबाबामा रहेको रंगशालमा नाम नै अबेबे बिकिला स्टेडियम राखिएको छ।
अबेबेको सन् १९७३ अक्टोबर २५ मा इथिओपियाको राजधानी आदिस अबाबामा ४१ वर्षको उमेरमा निधन भयो। त्यसको पाँच वर्षपछि न्युयोर्क रोड रनर्सले उनको सम्मानमा अबेबे बिकिला अवार्ड स्थापना गर्यो। हरेक वर्ष प्रदान गरिने उक्त अवार्ड सन् १९८२ मा इथिओपियाकै मामो वोल्डेलाई प्रदान गरिएको थियो।