PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

केमा चुक्छन् प्रचण्ड? उनले सुधार्नु पर्ने ६ पक्ष



मनोज सत्याल

केमा चुक्छन् प्रचण्ड? उनले सुधार्नु पर्ने ६ पक्ष

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै शब्दमा उनी 'संयोगवश' नेपालको राजनीतिको केन्द्रमा समर्थन, विरोध र विवाद सबैको सेन्टरमा छन्। २०५२ सालमा जनयुद्ध सुरु गरे यता नेपाली राजनीतिमा चर्चाका पात्र प्रचण्ड अहिले गणतन्त्र नेपालको दोस्रो प्रधानमन्त्री हुने पहिलो नेता बनेका छन्। उनकै शब्दमा नेपाली राजनीतिको केन्द्रमा रहनु 'गौरवपूर्ण छ, चुनौतीपूर्ण छ र निकै नै तनावपूर्ण पनि छ।'
 
जनयुद्ध, शान्तिप्रक्रिया हुदै गणतन्त्र घोषणा र संविधान निर्माणमा निर्णायक भूमिका खेलेका प्रचण्डका केही कमजोरीहरु छन्। अहिले उनलाई ती कमजोरी सुधारेर छवि निर्माण गर्ने मौका मिलेको छ। के के छन् त उनका कमजोरी र सुधार्नुपर्ने पक्ष? 

१) अस्पष्ट कार्यदिशा

एक समय प्रचण्डका सहयात्री समेत रहेका राजनीतिक विश्लेषक मुमाराम खनाल प्रचण्डको कार्यदिशा नै अस्पष्ट भएको बताउँछन्। अघिल्लो सरकारमा राप्रपा र संघीयता विरोधी जनमोर्चा सम्मिलित सरकारमा सहभागी हुँदाको कार्यदिशा र अहिले कांग्रेससँगको सहकार्यको कार्यदिशा नै के हो भन्नेमा प्रचण्ड दिग्भ्रमित रहेको उनको तर्क छ। 

'जस्तोसुकै अवस्थामा पनि व्यक्तिको रुपमा प्रधानमन्त्री हुन चाहे। किनकी उनको सत्ता चाहना सरकार बाहिरबाटै सुरु भएको हो। मूल कमजोरी राष्ट्रियताको सवालमा भनौँ, चाहे तराइ आन्दोलनका सवालमा भनौँ, सिमाङ्कन परिमार्जन भनौँ- धारणा बाहिर आएन। सम्पूर्ण विषय गौण भयो। सत्ता प्राप्ति एक सूत्रीय ध्येय भयो', खनाल आरोप लगाउँछन्।  

२) निर्णय बदलिरहनु

पहिलो पटक सरकारमा पुगेका बेला प्रचण्डले पशुपतिमा भारतीयलाई हटाई नेपाली पुजारी राख्ने निर्णय लिए। तर उनी उक्त निर्णयबाट पछि हट्न बाध्य भए।  त्यस्तै उनी प्रधानमन्त्री हुँदा नै काठमाडौँको इन्द्रजात्राका लागि दिदैँ आएको खर्च कटौति गरियो जुन उनका लागि  प्रत्युत्पादक बन्यो र सच्याउनुपर्‍यो। प्रचण्डमाथि निर्णय गर्नुअघि आवश्यक परामर्श र छलफल नगर्ने आरोप छ। उनी छिटो निर्णय लिन्छन् र त्यसमा अडिग रहन सक्दैनन्। उनले कयौँ पटक आफ्नो लचकताको फाइदा अरुले उठाउने गरेको समेत बताएका छन्। 

३) बोलीमा लगाम

प्रचण्ड कतिपय कुटनीतिक मर्यादा र शब्द प्रयोगमा ख्याल गर्दैनन्। उनी सीधा र स्पष्ट बोल्छन् जुन उनीमाथि प्रत्युत्पादक बन्ने गरेको छ। संविधान जारी गरे लगत्तै खुलामञ्चबाट प्रचण्डले कुनै पनि देशको यसम्यान हुन नचाहेको बताए जसका कारण उनको भारतसँगको सम्बन्ध समेत बिग्रियो। उनले प्रधान सेनापति रुक्माङ्गद कटवाललाई खुलामञ्चबाटै ‘को हो त्यो’ भनी चुनौति दिए।


​माधव नेपाल प्रधानमन्त्री हुँदा विदेशी प्रभुले बनाएको सरकार भन्दै सीधै दिल्लीसँग वार्ता गर्ने बताए। प्रचण्ड आफ्ना विरोध गर्नेहरुलाई कडा बोलीले प्रहार गर्छन् र पछि उनीहरुसँगै सहकार्य पनि गर्न तयार हुन्छन्। 

पत्रकार युवराज घिमिरे प्रचण्डले 'संवेदनशील वैदेशिक मामिलामा हचुवा अभिव्यक्ति दिने गरेको' उल्लेख गर्दै त्यो कमजोरी सुधार्न सुझाव दिन्छन्। 

४) परिवार – पुत्र र पत्नी

प्रचण्ड आफ्नो परिवारका कारण पटक पटक विवादमा आएका छन्। पुत्र प्रकाश दाहालका व्यक्तिगत सम्बन्ध र प्रचण्डको पहुँचको आडमा गर्ने व्यवहारले उनी विवादमा आउने गरेका छन्। प्रकाशको व्यक्तिगत चरित्रले बाबुलाई समेत विवादमा तान्ने गर्छ। तर उनले छोरालाई आफूबाट टाढा राख्न सक्दैनन्। यस पटक पनि उनले आफ्नो स्वकीय सचिवमा उनलाई नै नियुक्ति दिएका छन्।  त्यस्तै राजनीतिक भेटवार्ताका क्रममा श्रीमती सीता दाहालले देखाउने व्यवहारका कारण पनि उनी विवादमा आउँछन्। पत्रकार नेत्र पन्थीले आफ्नो पुस्तक ‘डिभोर्स’मा लेखेका छन् – प्रचण्डको भेटवार्ता र कुराकानीमा सीता सँगै रहन्छिन् र सुनिरहन्छिन्। 

५) असहज सम्पर्क सूत्र

प्रचण्डलाई भेट्न आफ्नै नेता कार्यकर्तालाई समेत गाह्रो रहेको गुनासो माओवादी केन्द्रीय समिति बैठकमै उठ्ने गरेको छ। सचिवालय र केही मानिसको घेराबन्दीमा रहने आरोप उनीमाथि छ जसका कारण उनको सचिवालय पटक-पटक परिवर्तनसमेत भएको छ। त्यस्तै उनको केही व्यवसायीसँगको निकट सम्बन्धबारे पनि बहस हुने गरेको छ। व्यापारी अजयराज सुमार्गीसँगको उनको सम्बन्धको उचाई र घटबढले पनि उनलाई विवादमा ल्याउने गरेको छ। 

६) सम्बन्ध निभाउन कच्चा

सम्बन्ध निभाउन प्रचण्ड कच्चा रहेको पत्रकार युवराज घिमिरे बताउँछन्। 'कमजोरी सबै मान्छेमा हुन्छ। उनले गरेका केही गल्ती छन्। शान्ति प्रक्रियामा आएपछि नेपाल आर्मीसँग सम्बन्ध बिगारे। ट्रान्जिसनल जस्टिसमा ढिलाइ गर्ने काम भयो। संसदमा प्रक्रिया मिच्ने काम भयो। त्यस्तै सर्वोच्च अदालतको स्वतन्त्रता खोस्ने काम पनि भए। यसमा कांग्रेस र एमाले पनि दोषी छन्। यी सबैले राज्य भताभुङ्ग हुने अवस्थामा छ। यी सबैमा प्रचण्ड पनि मुख्य रुपमा दोषी छन्,' घिमिरे भन्छन्। 

पहिलो संविधानसभाको निर्वाचनपछि गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउने भद्र सहमतिबाट उनी पछि हटे जसका कारण माओवादी र कांग्रेसको सम्बन्ध निकै पछिसम्म बिग्रियो।  यस पटक पनि बजेटअघि देउवासँग नयाँ गठबन्धनको सहमति गरिसकेपछि पनि उनी रातारात त्यसबाट पछि हटेपछि ओली सरकारको आयु लम्बिएको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell