काठमाडौं : बहुमूल्य मूर्ति, धातु र हतियारसहित एक युवक काठमाडौंबाट पक्राउ परेका छन्।
असनको गल्लीबाट गएराति १२ बजेको समयमा एक बोरा बहुमूल्य सामग्रीसहित सिन्धुपाल्चोक घर भएका २० वर्षीय प्रकाश राउत समातिएका हुन्।
मध्यरातको समय बोरामा शंकास्पद वस्तु बोकेर हिँडिरहेको बुझेपछि सोधपुछ गर्दा ती सामग्री फेला परेको महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख डिएसपी विनोद घिमिरेले बताए। मूर्ति र ती सामग्री कुन मन्दिरका र कति पुराना हुन् भन्नेबारे खुलाइएको छैन। 'हेर्दाखेरी महत्वपूर्ण र पुराना लाग्ने सामग्रीको अनुसन्धानपछि मात्रै मूल्यबारे भन्न सकिन्छ,' उनले भने।
प्रहरीले बरामद गरेका सामग्रीहरुमा विभिन्न मूर्ति, क्युरियोका सामान र पुराना हतियार समेत रहेका छन्।