PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

रियो ओलम्पिक : विश्व नम्बर वन टेनिस खेलाडी जोकोभिच पहिलो चरणबाटै बाहिरिए



पहिलोपोस्ट

रियो ओलम्पिक : विश्व नम्बर वन टेनिस खेलाडी जोकोभिच पहिलो चरणबाटै बाहिरिए

विश्व नम्बर वन टेनिस खेलाडी नोभाक जोकोभिच रियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएका छन्।
 
सर्वियन खेलाडी जोकोभिच अर्जेन्टिनाका हुवान मार्टिन डेल पोर्टोसँग सोझो सेटमा पराजित हुँदै ओलम्पिकबाट बाहिरिएका हुन्।
 
आइतबार सम्पन्न खेलमा पोर्टोले जोकोभिचलाई ७-६, ७-६ को सेटमा हराए। सन् २००८ को बेइजिङ ओलम्पिकमा कास्य पदक जितेका जोकोभिच यो पटक स्वर्ण जित्ने अभियानका साथ रियो पुगेको थिए। तर पहिलो चरणबाटै उनको यात्रा अगाडि बढ्न सकेन।
 
यता डेल पोर्टोले चार वर्षअघि लण्डनमा अएको ओलम्पिकमा कास्य पदक जितेका थिए।
 
जोकोभिच पहिलो चरणबाटै बाहिरिँदा ब्रिटिस खेलाडी एण्डी मुरे र स्पेनी राफेल नाडाल दोस्रो चरणमा प्रवेश गरेका छन्। लण्डन ओलम्पिकको स्वर्ण विजेता मुरेले पहिलो चरणम सर्भियाका भिक्टोर ट्रोइकीलाई ६-३ र ६-२ को सेटमा हराए।
 
नाडाल पनि अर्जेन्टिनी खेलाडी फेडेरिका डेल्बोनिसलाई ६-२ र ६-१ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन्।
 
सिंगल्समा दोस्रो चरणमा पुगेको ब्रिटिस खेलाडी एण्डी मुरे डबल्स भने पहिलो चरणबाटै बाहिरिए। मुरे र जेमी मुरे ब्राजिलियन थोमस बेलुची र आन्द्रे साको जोडीसँग ७-६ र ७-६ को सेटमा पराजित भए।
 
यस्तै वुमन डबल्सतर्फ अमेरिकी विलियम्स दिदीबहिनी पनि पहिलो चरणमै पराजित भएका छन्। भेनस र सेरेना विलियम्स चेक रिपब्लिककी लुसी साफारोभा र बारबोरा स्ट्राइकोभासँग ६ ३ र ६ ४ को सेटमा पराजित भएका हुन्।
 
वुमन डबल्समा विलियम्स दिदिबहिनीले खेलेको १६ खेलमा यो पहिलो हार हो। सन् २००० को सिड्नी ओलम्पिक, २००८ को बेइजिङ र २०१२ को लण्डन ओलम्पिकमा स्वर्ण पदक जितेकी दिदिबहिनीले २००४ को एथेन्स ओलम्पिकमा भने भाग लिएका थिएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell