
पहिलो पटक ओलम्पिक फुटबलमा स्वर्ण जित्ने अभियानमा रहेको आयोजक ब्राजिल लगातार दोस्रो खेलमा पनि गोल गर्न असफल भएको छ। स्टार खेलाडी नेमारको नेतृत्वमा रहेको ब्राजिल समूहको दोस्रो खेलमा इराकसँग गोलरहित बराबरीमा रोकियो।
ब्रासिलियास्थित गारिन्चा स्टेडियममा भएको खेलमा ब्राजिलले गोल गर्ने दर्जनौ अवसर प्राप्त गरे पनि फिनिसिङमा चुकेको थियो। पहिलो खेलमा पनि ब्राजिल दक्षिण अफ्रिका र इराक डेनमार्कसँग गोलरहित बराबरीमा रोकिएको थियो।
तर डेनमार्क दोस्रो खेलमा दक्षिण अफ्रिकालाई १-० गोल अन्तरले पराजित गर्दै समूह ए को शीर्ष स्थानमा रहेको छ। दुई खेलबाट डेनमार्कको ४ तथा ब्राजिल र इराकको २/२ अंक छ। दक्षिण अफ्रिकाको १ अंक मात्र छ। समूहमा शीर्ष दुईमा रहने टीम क्वाटरफाइनलमा प्रवेश गर्नेछ।
ब्राजिलको लागि डेनमार्कसँग हुने समूहको अन्तिम खेल महत्वपूर्ण हुनेछ। डेनमार्कलाई जिते ब्राजिल क्वाटरफाइनलमा प्रवेश गर्नेछ भने बराबरीले इराक र दक्षिण अफ्रिकाको खेलको नतिजा निर्णायक हुनेछ डेनमार्कसँग हारेको खण्डमा भने ब्राजिल समूह चरणबाटै बाहिरिनेछ।
नाइजेरिया क्वाटरफाइनलमा

सन् १९९६ को स्वर्ण विजेता नाइजेरिका समूह चरणमा लगातार दोस्रो जित हात पार्दै एक खेल अगावै क्वाटरफाइनलमा प्रवेश गरेको छ। पहिलो खेलमा जापानलाई पराजित गरेको नाइजेरियाले समूहको दोस्रो खेलमा स्वीडेनलाई १-० ले हरायो। नाइजेरियाको जितमा एक मात्र निर्णायक गोल सदिक उमरले ४० औं मिनेटमा गरे।
समूह बी मा दुई जितपछि नाइजेरिया ६ अंक सहित शीर्ष स्थानमा रहँदै क्वाटरफाइनल पुगिसकेको छ। अर्को खेलमा जापानसँग २-२ को बराबरी खेलेको कोलम्बियाको समूहमा दोस्रो बराबरीपछि २ अंक छ। जापान र स्वीडेनको भने १/१ अंक मात्र छ।
मेक्सिकोको रवाफ
एरिका गुटिएरेजले ह्याट्रिक गरेपछि डिफेन्डिङ च्याम्पियन मेक्सिकोले समूह चरणको दोस्रो खेलमा फिजीलाई ५-१ ले हराएको छ। २०१२ को लण्डन ओलम्पिकमा स्वर्ण जितेको मेक्सिको पहिलो हाफमा एक शून्यले पछि परेको अवस्था उल्टाउँदै दोस्रो हाफमा ५ गोल गर्न सफल भयो।खेलको दशौं मिनेटमै रोए कृष्नको गोलमार्फत फिजीले अग्रता लियो। तर एरिक गुटिएरेजले दोस्रो हाफमा चार गोल गरेपछि मेक्सिकोले फिजीमाथि आफ्नो रवाफ देखायो।

गुटिएरेजले ४८ औं, ५६ औं र ५८ औं मिनेटमा गोल गर्दै १० मिनेटभित्र ह्याट्रिक पुरा गरेका हुन्। उनले ७३ औं मिनेटमा व्यक्तिगत चौथो गोल गरे। मेक्सिकोका लागि कार्लोस सालसेडोले पनि एक गोल गरे।
समूह सी कै अर्को खेलमा जर्मनी र दक्षिण कोरियाले ३-३ गोलको बराबरी खेलेका छन्। सर्जी गनवरीले इन्जुरी टाइममा गोल गर्दै जर्मनीका लागि एक अंक दिलाए। गनवरीले जर्मनीका लागि इन्जुरी टाइममा सहित दुई गोल गरे भने डेभी सेल्कले एक गोल गरे। दक्षिण कोरियाका तर्फबाट ह्वाङ हि चान, सन हेउङ मिन र सुक ह्युन जुनले १-१ गोल गरे।
जर्मनी पहिलो खेलमा पनि मेक्सिकोसँग बराबरीमा रोकिएको थियो भने कोरियाले फिजीलाई हराएको थियो। दुई खेलपछि मेक्सिको ४ अंकसहित पहिलो समान ४ अंक भएको दक्षिण कोरिया दोस्रो स्थान छ । २ अंकका साथ जर्मनी तेस्रो र अंकविहीन फिजी चौथोमा छ।
पोर्चुगल क्वाटरफाइनलमा
समूह डी मा लगातार दोस्रो खेलमा विजयी भएपछि पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गरेको छ। पहिलो खेलमा अर्जेन्टिनालाई हराएको पोर्चुगलले दोस्रो खेलमा होण्डुरसलाई २-१ ले हरायो। दुई जितपछि ६ अंक पुर्याएको पोर्चुगल समूह डी को शीर्ष स्थानमा छ।समूह डी कै अर्को खेलमा अर्जेन्टिनाले अल्जेरियालाई २-१ ले हरायो। समूहमा पहिलो जित हात पारेसँगै सन् २००४ र २००८ को स्वर्ण विजेता अर्जेन्टिनाको क्वाटरफाइनल पुग्ने सम्भावना कायमै छ। दुई हारसँगै अल्जेरिया भने समूह चरणबाटै बाहिरिएको छ।

अब अर्जेन्टिना र होण्डुरसबीचको विजेता क्वाटरफाइनलमा प्रवेश गर्नेछ।