गाईघाट : मेशिन बिग्रेका कारण उदयपुर जिल्लाको जलजलेमा रहेको देशकै ठूलो सिमेन्ट उद्योग फेरि बन्द हुन पुगेको छ।
उदयपुर सिमेन्ट उद्योगको सिमेन्ट पिस्ने मिलको गियरचैन बिग्रेपछि झन्डै दुई हप्तादेखि सिमेन्ट उद्योग पूर्णरुपमा बन्द हुँदा सिमेन्ट उत्पादन कार्य ठप्प हुन पुगेको उद्योगका कर्मचारीले बताए।
दुई हप्तादेखि उद्योगबाट सिमेन्ट उत्पादन कार्य बन्द हुँदा अहिलेसम्म झन्डै उद्योगले रु १० करोडको घाटा व्यहोर्नुपरेको उद्योगका सहायक प्रबन्धक नवलकिशोर साहले बताए।
उद्योगको सिमेन्ट पिस्ने मिलको गियरचैन बिग्रेपछि उक्त चैनको पुनः मर्मत गर्न भारत लान परेको कारण उद्योग बन्द भएको कर्मचारी बताउँछन्।
चार महिना अघि पनि यसरी नै मिलको गियरचैन बिग्रँदा उद्योग झन्डै २५ दिन उद्योग बन्द हुन पुगेको कर्मचारी बताउँछन्।
उक्त समयमा पनि उद्योगले झन्डै रु २० करोड घाटा व्यहोर्नुपरेको थियो। तर वर्षभरि नै उद्योगको मिलको गियरचैन बिग्रने र उद्योग बन्द हुँदा घाटामा जाने गरेको भए तापनि उद्योगको लागि जापानबाट नयाँ गियरचैन ल्याउने कार्यतर्फ उद्योग प्रशासन तथा मन्त्रालय गैरजिम्मेवारी हुँदा यस्तो समस्या आएको उद्योगका एक कर्मचारीले बताए।
बिग्रेको गियरचैन र मेसिन मर्मत गर्नुभन्दा पनि जापानबाट नयाँ मेसिन खरिद गरेर ल्याए दसौँ वर्ष उद्योग निरन्तर चल्ने उद्योगका तल्ला तहका कर्मचारीको धारणा छ।
तर पुरानो मेसिन मर्मत गर्ने र भारतमा लगेर मर्मत गर्ने नाममा कमिसन खान पाउने हुनाले जिम्मेवार व्यक्तिले नै नयाँ मेसिन र गियरचैन खरिद गरेर ल्याउन नचाहेको आरोप तल्ला तहका कर्मचारीको रहेको छ।
विसं २०४४ मा जापान सरकारको सहयोगमा स्थापना भएको उदयपुर सिमेन्ट उद्योग एसियाको दोस्रो ठूलो र नेपालको पहिलो ठूलो पूर्णरुपमा सरकारी स्वामित्वमा रहेको सिमेन्ट उद्योग हो।
यसको सिमेन्ट उत्पादन क्षमता प्रतिदिन ८०० मेट्रिक टन रहेको छ। रासस