PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

नेविसंघ महाधिवेशन : हपहपी गर्मीमा जव देउवा जिन्समा गुथिएर निस्किए!



सविन ढकाल

नेविसंघ महाधिवेशन : हपहपी गर्मीमा जव देउवा जिन्समा गुथिएर निस्किए!

काठमाडौं : २०६४ साल भदौ। राजधानी लगायत देशभर प्रचण्ड गर्मी। नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघलाई भने १० औं महाधिवेशनको हपहपी।

त्यतिखेर नेता गिरिजाप्रसाद कोइरालाले नेपाली कांग्रेस र शेरबहादुर देउवाले प्रजातान्त्रिक कांग्रेसको नेतृत्व गरेका थिए। कोइराला नेतृत्व विद्यार्थी संघले चितवन र देउवा नेतृत्वले नेपालगञ्जमा महाधिवेशनको तयारी पूरा भइसकेको थियो।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङ महाधिवेशनमा भाग लिन नेपालगञ्ज जान त्रिभुवन विमानस्थलबाट विमान चढे। उनी चढेको विमानमा एउटा युवक ठाँटिएर छेउकै सिटमा बसेको रहेछ। जिन्सको पाइन्ट, त्यसमाथि जिन्सकै टिसर्ट र हातमा जिन्सकै ज्याकेट। प्रचण्ड गर्मीमा यस्तो पहिरन! गुरुङलाई एक छिन त त्यो दृष्यले रनभुल्ल पार्‍यो।

त्यो पहिरनमा देखिएका व्यक्ति अरु कोही नभएर उनकै पार्टीका सभापति शेरबहादुर देउवा थिए। सभापति मात्र नभएर ३ पटक देशका पूर्वप्रधानमन्त्री पनि। सधैं दौरा सुरवालमा देखिने आफ्ना नेता यो पहिरनमा देखिएर गुरुङलाई अचम्म लाग्यो। उनले आफ्नो मौनता केहीबेर रोके पनि धेरैबेर थेग्न सकेनन्। गुरुङले देउवा नजिकै गएर सोधे, 'सभापतिज्यू यो पहिरन किन?

देउवाले पनि जवाफ दिए, 'कारण छ भोलि भन्छु।' सभापतिले नै भोलि भन्छु भन्ने पछि उनले कर गर्ने कुरै भएन। गुरुङका लागि भोलि कुर्नु बाहेक अरु विकल्प केही थिएन। नेपालगञ्जमा विमान अवतरण भयो।

भोलिपल्ट नेविसंघको महाधिवेशन उद्घाटन कार्यक्रम थियो। देउवा महाधिवेशन कार्यक्रममा पनि त्यही जिन्सको पाइन्ट, सर्ट र ज्याकेटमा देखिए। पूर्व प्रधानमन्त्री त्यसमाथि उमेरले ६ दशक काटिसकेका उनलाई देखेर सबै अचम्ममा परे।

उनले सबैको अघि आफ्नो पहिरनको रहस्य खोले। देउवा पहिलो पटक नेपाल विद्यार्थी संघको अध्यक्ष बन्दा त्यही पाइन्ट, सर्ट र ज्याकेट लगाएका रहेछन्। उनले त्यो पहिरन लगाएको ३६ वर्ष बितिसकेको थियो। उनले आफ्नो नेविसंघको माया र राजनीतिक करिअर पनि त्यही पहिरनसँग जोडिएको रहेछ। केन्द्रीय सदस्य कल्याण गुरुङका अनुसार सभापति शेरबहादुर देउवाको घरको दराजमा अझै पनि त्यो जिन्स पेन्ट, सर्ट र ज्याकेट सुरक्षित छ।

फोटो : देउवाको फेसबुक पेजबाट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell