काठमाडौं : आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै केपी शर्मा ओलीले भनेका थिए, 'आफू फोटो टाँस्नका लागि मात्रै प्रधानमन्त्रीको उम्मेदवार बनेको होइन।'
उम्मेदवारी पेश गरेपछि नै उनले आफ्ना प्रतिस्पर्धी सुशील कोइरालालाई उम्मेद्वारी फिर्ता लिन पनि आग्रह गरे। आफूले नै कोइरालालाई प्रस्ताव गर्दै प्रधानमन्त्री बनाएको स्मरण गर्दै उनले राजीनामा नदिँदासम्म साथ दिएको बताउन भुलेनन्।
उखान-टुक्का मिलाएर बोल्ने ओलीको मुखबाट फुत्किहाल्यो, 'लाग्छ, सबैले मलाई मतदान गर्नुहुनेछ। मलाई मतदान नगरे पनि किन मतदान गरिएनछ भनी सम्झी-सम्झी बाडुली लागेझैं हुनेछ।' संसदमा हाँसो गुञ्जियो।
अन्तत: उनी २०७२ असोज २४ गते मुलुकको ३८औं प्रधानमन्त्री बने।
उनले फोटोमात्रै टाँसे या अरु केही गरे- जनताले मूल्यांकन गरेकै होलान्।
उनलाई मतदान नगर्नेलाई बाडुलीले कति सतायो- तिनैलाई थाहा होला।
९ महिना पुगेलगत्तै उनले प्रधानमन्त्रीको कुर्सी छाड्नुपर्यो। त्यहीँ बस्न आइपुगेका छन्, पुष्पकमल दाहाल प्रचण्ड।
वर्तमान प्रधानमन्त्री प्रचण्डले पनि ओलीकै शैलीमा आज एक कार्यक्रममा भने, 'मुलुकले पछिसम्म सम्झनलायक काम गर्नेछु।'
अघिल्लोपटक ९ महिनामै सरकार छोड्नुपर्ला भन्ने आफूलाई नलागेको पनि उनले खुलाए। 'त्यसैले पनि धेरै काम गर्न सकिनँ,' दोस्रो पटक प्रधानमन्त्री बनेका उनले भने, 'तर यसपटक राष्ट्र र जनताले युगौंसम्म सम्झनलायक काम गर्नेछु। यो मेरो प्रतिबद्धता भयो।'
ढिकुरपोखरी–काठमाडौं समाजले प्रधानमन्त्री निवास बालुवाटारमा गरेको कार्यक्रमलाई उनी सम्बोधन गर्दै थिए। आफू परिणामुखी काम गर्ने पक्षमा रहेकाले सबैको साथ र सहयोगको अपेक्षा पनि गरे उनले।
प्रधानमन्त्रीको सपथ लिएको भोलिपल्टै मधेसी गठबन्धनसँगको छलफललाई अघि बढाएका, रिबन काट्नेखालका उद्घाटन कार्यक्रममा नजाने घोषणा गरेका अनि काम चुस्त दुरुस्त गर्न कर्मचारीहरुलाई कडा निर्देशन दिइसकेका प्रचण्डले फोटोमात्रै झुन्ड्याउलान् कि काम पनि गर्लान्? 'जनताले युगौंसम्म सम्झनलायक' ती काम कस्ता होलान्?
जनताले आजैदेखि उनका कामकारबाहीलाई हेरिरहनेछन्।
(फाइल फोटो)