PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

​विदेशमा अलपत्र नेपालीलाई सरकारी खर्चमा ल्याउन प्रम प्रचण्डको निर्देशन



पहिलोपोस्ट

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले टेलिफोन गरी साउदी अरब र श्रीलङ्कामा अलपत्र परेका नेपालीलाई तुरुन्तै राहत र नेपाल आउने वातावरण निर्माण गर्न निर्देशन दिएका छन्।
 
प्रधानमन्त्री दाहालले आज परराष्ट्र सचिव शङ्करदास बैरागीलाई टेलिफोन गरी नेपाली नागरिक विदेशमा अलपत्र पर्नु स्वभाविक नभएको र नेपालीले कुनै पनि रुपमा दुःख पाउन नहुने भन्दै तत्काल स्वदेश फर्काउन निर्देशन दिएको दाहालको सचिवालयले जनाएको छ।
 
प्रधानमन्त्रीले निर्देशनमा ‘साउदी अरबमा सयौँ नेपाली र श्रीलङ्कामा ४५ जना नेपाली महिला अलपत्र परेको समाचार आएको छ। यथार्थ बुझेर तुरुन्तै उनीहरुलाई राहत, रोजगारीको व्यवस्था र नेपाल फर्कने व्यवस्था गर्नुस्’ भनेको सचिवालयले जनाएको छ।
 
सम्बन्धित देशको सरकार र दूतावाससँग समन्वय गरी यथाशीघ्र उनीहरुलाई त्यही रोजगारीको व्यवस्था गर्न र त्यसो नभए सरकारी खर्चमै नेपाल ल्याउन पनि निर्देशन दिएका हुन्।
 
 
परराष्ट्र सचिवले प्रधानमन्त्रीको निर्देशन तुरुन्तै कार्यान्वयन गर्ने बताएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell