काठमाडौं : सर्वनाम थिएटरको अविरल यात्रा अन्तरगतको 'नेपाली सुगम संगीत विगत र वर्तमान' कार्यक्रममा गायिका लोचन भट्टराई, सङ्गीतकार राजु सिंह, गायक सत्यराज आचार्य र यादव खरेलले नेपाली संगीतबारे बहस गरेका छन्।
सो बहसमा संगीतकार सिहंले पुराना स्रष्टाले संयोजन गरेको संगीतको स्तर उच्च र गम्भीर भएको भन्दै नयाँ पुस्तालाई त्यही कठिन लागेको बताए।
गीतकार खरेलले गीत चर्चित हुँदा गायक चर्चामा आउने तर गीतकार भने सधैं ओझेलमा पर्ने तितो यथार्थ पोखे।
अर्का गायक आचार्यले पुराना स्रष्टाबाट प्रभाव ग्रहण गर्नु स्वाभाविक भए पनि हुबहु नक्कल गर्नु नहुने धारणा राखे। 'आफ्नोपनमै गीत जीवन्त हुन्छ,' उनले भने, 'यसमा सबै सचेत हुन जरुरी छ।'
गीत स्तरीय हुनुमा गीतकारको भूमिका महत्वपूर्ण हुने भन्दै उनले गायकसँगै गीतकार चर्चामा नआउँदा दु:ख लाग्ने बताए।
सोही अवसरमा आउँदो साउन ३१ र ३२ गते आर्मी अफिसर्स क्लबमा सांगीतिक कार्यक्रमको आयोजना हुने रंगकर्मी अशेष मल्लले जानकारी गराए। कार्यक्रममा योगेश वैद्य, मिलन अमात्य, सत्य-स्वरुपराज आचार्य, लोचन भट्टराई, कुन्ती मोत्तान, उदय सोताङ र देविका बन्दनाले गीत गाउँदैछन्।